सुत्केरी हुन भर्ना भएकी गर्भवतीलाई कोरोना संक्रमण

मंगलबार, २० जेष्ठ २०७७

काठमाडौं – सुत्केरी हुन अस्पताल भर्ना भएकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । थापाथलीस्थित प्रसूति गृहमा ६ दिनअघि भर्ना भएकी २२ बर्षिय महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

ती महिलालाई उच्च ज्वरो आएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ आएको अस्पतालका निर्देशकडाक्टर जागेश्वर गौतमले बताए । सुत्केरी हुनका लागि ६ दिनअघि नै अस्पताल भर्ना भएपनि सुत्केरी बेथा नलागेको उनले बताए । संक्रमित गर्भवती महिलाको अवस्था सामान्य रहेको उनको भनाइ छ ।

संक्रमित गर्भवती महिलालाई कोभिड अस्तपाल पठाउने तयारी गरिरहेको उनले बताए । कोभिड अस्पतालमा सुत्केरी गराउन नमाने प्रसूति गृहमा नै गराउने समेत उनले बताए । गर्भवती महिलामा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मी ट्रेसिङ भइरहेको उनले बताए ।

उपचारमा संलग्न चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राखिसकेको निर्देशक गौतमले बताए ।