रुकुम हत्याकाण्डबारे पहिलो पटक बोले प्रधानमन्त्री, ‘अपराधीलाई नछोड्ने’
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली रुकुम हत्याकाण्डका बारेमा पहिलो पटक बोलेका छन । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि कथित दलितको हीन पहिचान व्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनुपरेका घटनाहरु भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, ‘युगौं अघिदेखिको कुप्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको असंवेदनशीलता र गरिवीका कारण हाम्रा दिदीबहिनी दाजुभाइहरु अहिले पनि कथित दलितको हीन पहिचान ब्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनु परेका घटना हामी देख्दै आएका छौं ।’
प्रधानमन्त्रीको सम्वोधनमा भनिएको छ, ‘नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । अर्थात् मानव हितविरुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहने छैन । यस्ता अमानवीय हिंसाका घटनाहरुको छानविन गरी दोषीहरुलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने छैन ।’
मानव सभ्यताको कलङ्क र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने बताउँदै प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनेछ्र । त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन ।’