आज राति चन्द्रग्रहण लाग्ने

शुक्रबार, २३ जेष्ठ २०७७

काठमाडौं – आज राति साढे ११ बजेदेखि चन्द्रग्रहण लाग्ने भएको छ। २०२० को दोस्रो पेनम्ब्रल चन्द्रग्रहण साढे ११ बजेदेखि सुरू भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने २ बजेर ४९ मिनेटमा सकिनेछ।

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रासभन्दा भिन्न खालको चन्द्रग्रहण भएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

उनले भने, ‘चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो। यसमा बिरल छाँया पर्ने हुनाले यसलाई पेनम्ब्रल भनिएको हो। यो हाम्रो आँखाले देख्न मुस्किल छ। जसकारण हाम्रो नेपाली पात्रोमा पनि यसबारे समावेश गरिएको देखिन्न,’ अध्यक्ष भट्टाराईले भने।

वैज्ञानिकहरूका लागि यो ग्रहण अध्ययनको विषय हुने भएकोले महत्वपूर्ण मानिएको छ। यसअघि २०७६ पुष २५ गते शुक्रबार राति पनि यस्तो खालको चन्द्रग्रहण देखिएको थियो।