भोलीदेखि यसरी खुल्दैछ लकडाउन

शनिबार, २४ जेष्ठ २०७७

काठमाडौं – कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउदै लैजाने प्रस्ताव अगाडी सारेको छ । सीसीएमसीले लकडाउनको मोडेलपनि तयार गरेको छ ।

यद्यपी उक्त प्रस्ताव र मोडलबारे छलफल जारी नै रहेकाले त्यसको थपघट हुनसक्ने बताइएको छ । उक्त प्रस्ताव कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल गरेर मन्त्रिपरिषद बैठकमा पठाउने तयारी भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले उक्त प्रस्ताव विभिन्न सरोकारवालाहरुसँग छलफल गरेर तयार पारेको हो ।

प्रस्तावमा कोरोना भाइरस संक्रमण दरका आधारमा जिल्लाहरु छुट्याएर ५ देखि ६ चरणमा लकडाउन पूर्ण खोल्न सकिने योजनामा समेटिएको छ ।

सीसीएमसीको प्रस्तावमा यहीँ जेठ २५ गतेदेखि ७० दिनभित्र लकडाउन खोल्न सकिने उल्लेख छ । यो योजना अन्तर्गत कोरोना भाइरस संक्रमण अत्यन्त कम देखिएका जिल्लाहरुमा जिल्लाभित्रै मात्र चल्नेगरी सवारी साधन सञ्चालन गर्न सकिने प्रस्ताव छ ।

उच्चस्तरीय समितिमा रहेका एक मन्त्रीका अनुसार समितिले सवारी साधन सञ्चालनका हकमा जेठ २५ देखि कोरोना संक्रमण कम देखिएका जिल्लामा छोटो दुरी र असार १ बाट लामो दुरीका यातायात सञ्चालन गर्ने प्रस्ताव गरेको हो ।

तर, यी दुवैथरी सवारी सञ्चालनका लागि निश्चित शर्तहरु लागू हुनेछन् । ती सर्तहरु के के हुने भन्नेमा भने सरोकारवालाहरुबीच कुराकानी भैरहेको छ । ‘शनिबारसम्ममा टुंगोमा पुग्नेगरी योजना तर्जुमा र छलफल भइरहेको छ’, ती मन्त्रीको भनाइ छ ।

लकडाउनलाई खुकुलो पार्दै लैजाने सरकारी नीति अनुसार तयार भएको प्रस्तावमा व्यक्तिव्यक्तिबीच कम्तीमा एक मिटरको भौतिक दूरी कायम राख्ने र आवश्यक सरसफाइका प्रोटोकल पालना गर्नेगरी सवारी साधन सञ्चालन गर्नसक्ने उल्लेख छ ।

प्रस्ताव अनुसार जेठ २५ बाट सञ्चालन हुने क्रियाकलाप अन्र्तगत दैनिक उपभोेग्य सामग्रीबाहेक अन्य सामग्री विक्री हुने पसल तथा डिपार्टमेन्टल स्टोरहरु, कपाल काट्ने सैलुन, एक जिल्लाबाट अर्को जिल्ला नकट्ने सवारी साधन (क्षमताको आधामात्र यात्रु राखेर) छोटो दुरीका यात्रुबहाक सवारी साधन सञ्चालन गर्न दिन सकिने उल्लेख छ ।

त्यसैगरी सम्बन्धीत कार्यालयको परिचयपत्रको आधारमा कार्यालयको कामसँग सम्बन्धित सवारी साधनहरु पनि चल्न दिने प्रस्तावमा भनिएको छ । तर दुई पांग्रेको हकमा चालकमात्र रहनेगरी प्रस्ताव गरिएको छ ।

यो प्रस्ताव पारित भए मोटरसाइकल र साइकलमा चालकमात्रै बस्न पाउनेछन् । त्यस्तै अस्पताल, निजी क्लिनिकहरु पनि खुल्ने सूचीमा सूचीकृत छन् ।

असार १ बाट भने सवै प्रकारका उद्योग व्यवसाय,आन्तरिक हवाईसेवा (आधा क्षमताका यात्रु राख्ने गरी), निश्चित समय तोकी मदिराजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु पनि खोल्न समितिले प्रस्ताव गरेको छ ।

त्यस्तै सपिङ महल पनि असार १ गतेबाट खोल्न सकिने उच्चस्तरीय समितले तयार पारेको प्रस्तावमा उल्लेख छ ।