अब ५ दिसम्म स्वाव संकलन बन्द !

शनिबार, २४ जेष्ठ २०७७

धनगढी – सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन बन्द गरिएको छ । प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका लागि स्वाब सङ्कलन कार्य बन्द गरिएको हो ।

धनगढीको एक मात्रै पिसीआर प्रयोगशालाको दैनिक जाँच क्षमता २५० मात्रै छ। परीक्षणका लागि आएका स्वाबका एक हजार ८३ नमूना परीक्षण गर्न बाँकी छन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक गुणराज अवस्थीका अनुसार दैनिक स्वाब सङ्कलन कार्य भइरहेको छ।

यसरी नै स्वाब सङ्कलन भइरहने हो भने परीक्षण गर्नुपर्ने स्वाब धेरै दिन थन्किन सक्ने र धेरै दिनसम्म परीक्षण नगरी स्वाब राखेमा बिग्रने पनि सम्भावना भएकाले पाँच दिनका लागि स्थगन गरिएको छ। प्रयोगशालमा परीक्षण गर्न बाँकी नमूना परीक्षणको कार्य सकिएपछि मात्रै स्वाब सङ्कलनको कार्य शुरु गरिने बताइएको छ।