कोरोना संक्रमणबाट १ जनाको ज्यान गयो, ३० जना संक्रमित

सोमबार, २६ जेष्ठ २०७७

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएका एक युवकको सम्पर्कमा आएका ३० जनामा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थियो । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।

घर फर्कने क्रममा भारतमै मृत्यु भएका युवकको कपिलवस्तु ल्याएर पोस्टमाटर्म गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा सन्धीखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालिका र पाँडिनी गाउँपालिकाका एक÷एक जना रहेका छन ।