कोरोना संक्रमितको मृत्यु भएपछि पोखरामा लफडा, शव व्यवस्थापनमा सकस
पोखरा – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन गर्न प्रशासनलाई सकस भएको छ । शव लिएर गएको गाडीको स्थानीयबासीले बाटो छेकेपछि लफडा भएको हो ।
जेठ २२ गते सुनौली नाकाबाट नेपाल आएका उनलाई २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा भर्ना गरिएको थियो । उनमा कोरोना संक्रमण भएको आइतबार पुष्टि भयो भने राति उपचारका क्रममा मृत्यु भएको थियो ।
शव व्यवस्थापन कहाँ गर्ने भन्ने टुंगो १६ घण्टासम्म उनको शव अस्पतालको आइसोलेसनमा अरु संक्रमितसँगै रह्यो । महानगरले वडा नं ११ मणिपाल शिक्षण अस्पतालभन्दा केही तलको सेती नदीस्थित रिठ्ठे घाटमा संक्रमितको शव गाड्ने निधो गर्यो । नेपाली सेनाले शव गाड्न खाल्डो खनेर ठिक्क पारिसकेका थिए । तर वडा नम्बर ११ र २० का वासिन्दाले विरोध गरे । सेती किनारमा शव गाड्दा आफूहरुलाई जोखिम हुने उनीहरुको तर्क थियो ।
पोखरा महानगरको वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ, प्रदेश सांसद विन्दुकुमार थापा समेत शव लैजान नदिने अडानमा थिए ।
विरोध गर्नेहरुले शव बोकेको गाडीको बाटो नै छेक्न आएपछि प्रहरीले लाठी चार्जसमेत गरेको छ । प्रहरीको लाठीचार्जबाट वडाध्यक्ष बास्तोलासहित केही सामान्य घाइते भएका छन् ।
श्रीमानको शव हेर्न उनकी श्रीमती छोरीसहित दिउँसै अस्पताल पुगेका थिए । तर शव व्यवस्थापनमा अवरोध हुँदा आफन्त गुमाएका उनीहरुमाथि भने थप पीडा भएको छ ।