कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

मंगलबार, २७ जेष्ठ २०७७

चितवन – नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको हो।

मृत्यु भएका व्यक्ती भरतपुर नगरपालिका ११ बस्ने ६८ वर्षका पुरूष भएको भरतपुर अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनको शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचार भइरहेको थियो।

पछि कोरोनाको संक्रमण पुष्टि भएपछि सोमबार साँझ ७ बजे भरतपुर अस्पताल ल्याएर कोभिड आइसियूमा राखेर उपचार गरिदैं आइएकोमा मंगलबार बिहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालको भनाइ छ।

मृतकलाई पहिलादेखि नै सुगर तथा प्रेसरको समस्या थियो। अस्पतालले पछिल्लो समय भएको कोरोना र निमोनियाका कारण उनको मृत्यु भएको जनाएको छ। यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।