कालिकोट दुर्घटना : मेयरको गम्भीर लापरवाही, टिके ड्राइभरका कारण अकालमै गयो ज्यान

बुधबार, २८ जेष्ठ २०७७

काठमाडौं – कालिकोटको लालिघाट । समय विहान ९ :३० बजे । भारत र स्वदेशकै विभिन्न स्थानबाट उद्धार गरी कालिकोट जिल्लाको रास्कोट नगरपालिकाको क्वारेन्टाइनमा लैजाने तयारी गर्दैगर्दा ट्रिपर दुर्घटना भयो । ट्रिपरमा ३९ जना यात्रु चढेका थिए र केही अर्को पटकको प्रतिक्षा गर्दै थिए ।

ट्रकमा नअटेका केहीले ड्राइभरलाई फेरी फर्केर आउन आग्रह गरे । उनीहरुको आग्रहलाई ड्राइभरले मानेनन् । त्यसै विषयमा विवाद भयो । केहीले ड्राइभर, रास्कोट नगरपालिका बडा नम्बर ८ निवासी रङ्गनाथ धमलामाथि हाातापात प्रयास पनि गरे ।

त्यसपछि ड्राइभर धमला स्टार्ट गरेको ट्रिपरबाट ओर्लिए । उनी ओर्लिएको केहीवेरमा ट्रिपर नदिमा खस्यो । २ जनाको मृत्यु भएको छ भने ६ जना अझै वेपत्ता छन । घाइते भएका ११ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

गाडिमा चढेका मध्ये धेरै जसो सकुसल छन । भारत र रामेछाप जिल्लावाट आएका नागरिकलाई रास्कोट नगरपालिकाको क्वारेन्टाइनमा लिने तयारी गर्दै गर्दा ट्रिपर दुर्घटना भएको हो ।

मेयरको कमजोरी

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका मेयर काँशीचन्द्र बरालको लापरवाहीका कारण ट्रिपर दुर्घटना भएको आरोप लागेको छ । स्थानिय तवरमा संचालन भएका अन्य सवारी साधन हुँदा हुँदा ट्रिपरलाई मान्छे बोक्ने अनुमति दिदा दुर्घटना भएको हो ।

क्षमता भन्दा धेरै यात्रु राखेको र अपरिपक्क ड्राइभरलाई प्रयोग गर्दा दुर्घटना भएको ओरोप उनीमाथि लागेको छ । मेयर बरालले ड्राइभरलाई टिपेर काम लगाउँदा दुर्घटना भएको रास्कोटका स्थानियबासीको भनाई छ । उद्धार गर्ने विभिन्न उपायहरु हुँदा हुँदा मेयरले रङ्गनाथलाई नै प्रयोग गरेपछि विभिन्न खालका प्रश्नहरु उव्जीएका छन ।

ड्राइभर धमला फरार रहेका छन । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीको वयानमा आधारित ।