सरिता गिरीको घरमा प्रहरीको बाल्लो उपस्थिति, के हुँदैछ त्यहाँ ?

बुधबार, २८ जेष्ठ २०७७

काठमाडौं – नेपाल विरोधी अभिव्यक्ति दिदै आएकी सरिता गिरीलाई कालो झण्डा देखाइएको छ । विशालनगरस्थित उनको घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेको छ । उनको घरमा राखेको कालोझण्डा प्रहरी पुगेर हटाएको छ ।

उनको घरमा कालोझण्डा कसले राखेको भनेर पहिचान नभएको प्रहरीले जनाएको छ । यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निश्कर्ष निकालेको छ ।

काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना अएपछि प्रहरी टोली पुगेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ ।

तर सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् ।