कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

बिहिबार, २९ जेष्ठ २०७७

अर्घाखाँची – कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिकाका ५७ बर्षिय पुरुषको मृत्य भएको हो ।

स्थानिय क्वारेन्टिनमा बसेका उनी उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्युपछि परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा बिहिबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका उनको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।