भारतले अति गर्यो अब हामीलाई टिस्टा काँगडा चाहिन्छ : नेता लिङ्देन

शनिबार, ३१ जेष्ठ २०७७

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले भारतले सुगौली सन्धी अनुसारको नेपाली भुमी छोड्दैन भने टिस्टा काँगडा छोड्न तयार हनुपर्ने बताएका छन् ।

‘यसमा कुनै किन्तु पर्यन्तु छैन, राप्रपा यसलाई निर्सत समर्थन गर्दछ,’ प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै लिङ्देनले भने ।

नेपाली भूमि फिर्ता गर्नका लागि कठिनाइ र जटिलता भए पनि वार्ता र संवादबाट छिमेकी भारतसँग कुरा गर्नुपर्ने बताउँदै कठिन र जटिल छ भन्दै हेरौँला भनेर बस्न नहुने उनले बताए । ‘हामीले भारतलाई सोध्नुपऱ्यो, के सुगौलि सन्धि नमान्ने हो रु यदि भारतले सुगौली सन्धि नमान्ने हो भने हामीले टिस्टा र काँगडासम्म छोड्दिनुपऱ्यो,’ सांसद लिङ्देनले भने ।

नेपालको तर्फबाट पनि आफ्नै नक्सामा आफ्नो भूमि नराखेर ऐतिहासिक गल्ती भएको उल्लेख गर्दै लिङ्देनले भारतसँग वार्ता गरेरै भूमि फिर्ता लिनुपर्ने बताए । सांसद लिङ्देनले भारतलाई बुझाउन र वार्ताको पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।

लिङ्देनले वर्तमान संविधानप्रति पार्टीको असन्तुष्टि भए पनि अहिलेको संशोधन प्रस्ताव देशका लागि भएको बताए । अहिलेको संविधान संशोधन प्रस्तावमा राप्रपाले निर्सत समर्थन गरेको उनले बताए ।