यी १२ सांसदले गरेनन् संविधान संशोधनमा मतदान (नामसहित)
काठमाडौँ — प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक मा १२ जना सांसदले मतदान गरेनन् । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
२ सय ७५ सांसद रहेको प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथिको मतदानका क्रममा १२ जना सांसद भने अनुपस्थित रहेका थिए । ४ जना सांसद भने निलम्बनमा छन् । सभामुखले विधेयकमाथिको मतदानमा सहभागिता जनाउँदैनन् ।
विधेयकमाथि मतदान नगर्ने सांसदमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिता गिरी र ज्ञानकुमारी छन्त्याल रहेको संसद सचिवायलयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
सरिता गिरीबाहेकका सांसद आजको बैठकमा अनुपस्थित थिए । सांसद गिरीले भने बैठक बहिष्कार गरेकी थिइन् ।
अनुपस्थित रहेका सांसदहरूमा सत्तारुढ नेकपाका सबैभन्दा धेरै छन् । हरिबोल गजुरेल, शिवकुमार मण्डल, धनबहादुर बुढा र गोपालबहादुर बम रहेका छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरू नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल अनुपस्थि रहे । राजपाका प्रमोद साह, अमृतादेवी अग्रहरी र दुलारीदेवी खत्वेनी अनुपस्थित रहँदा समाजवादीका सांसद सूर्यनारायण यादव अनुपस्थित रहे भने सरिता गिरीले संसद बैठक बहिष्कार गरिन् । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेपनि गिरीले ह्वीप उलंघन गरेकी हुन् ।
सांसदहरू हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मद अफताव आलम र विजयकुमार गच्छदार निलम्बित छन् ।