नेपालले नयाँ नक्सा पारित गरेपछि भारतले मुख खोल्यो, नेपालमाथि लगायो गम्भीर आरोप

शनिबार, ३१ जेष्ठ २०७७

काठमाडौं – प्रतिनिधि सभाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार संविधानमा रहेको निशान छाप पारित गरेपछि छिमेकी भारतले प्रतिक्रिया जनाएको छ।

शनिबार साँझ प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालय प्रवक्ता अनुराग श्रीवास्तवले भारतीय क्षेत्र समेटर नेपालको प्रतिनिधि सभाले संविधान संशोधन विधेयक पारित गरेको कुरा भारतले जानकारीमा राखेको बताए।

‘नेपालको प्रतिनिधि सभाले भारतीय भूमि समेटेर नेपालको नक्सा परिवर्तन गर्न संविधान संशोधन विधेयक पारित गरेको हामीले जानकारीमा राखेका छौं। यो विषयमा हामीले पहिला नै हाम्रो स्पष्ट धारणा राखिसकेका छौं,’ उनले भनेका छन्।

यसअघि नेपालले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले आपत्ती जनाएको थियो। ‘यो बनावटी विस्तारको दाबी कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन,’ श्रीवास्तवले भनेका छन् ‘यो कदम सीमा विवाद वार्ताका माध्यमबाट टुंग्याउने हाम्रो बुझाइको उल्लंघन हो।’

शनिबारको प्रतिनिधि सभा बैठकले निशान छाप परिवर्तनसम्बन्धी संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ।