कोरोना संक्रमितमाथि प्रहरीको अन्धाधुन्द लाठी चार्ज

आइतबार, ३२ जेष्ठ २०७७

दैलेख – दैलेखमा प्रहरीले कोरोना संक्रमितमाथि आन्धाधुन्द लाठी चार्ज गरेको छ । खान, बस्न र औषधि उपचारको राम्रो व्यवस्था गर्न माग गर्दा कोरोना संक्रमितमाथि प्रहरीले ठाठी चार्ज गरेको हो ।

आफूहरुको व्यवस्थापनमा लापरबाही भएको, उपचार तथा परीक्षणमा ढिलाइ गरिएको र आइसोलेसनको नाममा क्वारेन्टाइनमै थुन्ने काम भएको भन्दै संक्रमितहरु आन्दोलित भएका छन । विभिन्न माग राख्दै शनिवार नारायण नगरपालिकास्थित त्रिभुवन माविको क्वारेन्टाइनमा राखिएका संक्रमितहरु बाध्य भएर सडकमै निस्किएका थिए । प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई नियन्त्रणमा लिएको हो। त्यसक्रममा ४ जना संक्रमित घाइते भएका छन ।

नारायण नगरपालिकाका विभिन्न वडाका कोरोना संक्रमितहरुलाई त्यही विद्यालयमा राखिएको छ। वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठका अनुसार २९ जना संक्रमितसहित ४३ जनालाई सँगै राखिएको छ। उनीहरु ३२ दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि रिपोर्ट नआएको र घर जान पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

घाइतेहरुलाई सरस्वती मावि तर्ताङ्गमा रहेको आइसोलेसन वार्डमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आन्दोलनमा उत्रिएका कोरोना संक्रमितका आफन्तले भने जनप्रतिनीधिहरुले नै लाठीचार्ज गर्न लगाएको बताएका छन्।

‘मेरै अगाडी प्रहरीले मेरो छोरालाई कुटे, घरबाट ल्याएको सामान नै छोरालाई दिन पाइँन’ स्थानीय सुर्यप्रसाद रेग्मीले भने,‘परीक्षण समयमै नगर्ने, स्कुलमै थुनेर कहिलेसम्म राख्ने हो ? राम्रो उपचार र रिपोर्ट छिटो निकाल्नु प¥यो भन्दा संक्रमितलाई नै निर्मम तरिकाले कुट्ने काम गरिएको छ, यो राज्यकै असफलता हो।’

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले भने अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरिएको बताए। ‘संक्रमितहरु बजारमै निस्केर आन्दोलन गर्न थालेपछि थप संक्रमणको जोखिम भयो, हामीले सडकमा नआउन भनी सम्झाउँदा नमानेपछि दोहोरो झडप भएको हो।’

दैलेखमा शनिवारसम्म संक्रमितको संख्या पाँच सय नाघेको छ। उनीलाई डाक्टरको निगरानी, उपचार तथा औषधीको व्यवस्थासमेत गरिएको छैन। यही कारण देखाउँदै संक्रमित आन्दोलित भएका हुन्।