एमसीसी सकस : फेरी स्थगित भयो नेकपा सचिवालय बैठक
काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन )एमसीसी) बारे छलफल गर्न बोलाइएको नेकपा सचिवाय बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बोलायएको बैठक एक घण्टाअघि स्थगित भएको हो ।
नेकपाका महासचिव विष्णु पौडेलले आकस्मिक काम परेकाले बैठक स्थगित भएको बताए । त्यो आकस्मिक काम के आइलाग्यो चाहिँ उनले भन्न चाहेनन् । आइतबार अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलबीचको परामर्शबाट बैठक स्थगित भएको छ ।
दुवै अध्यक्ष र महासचिवको परामर्शमा बोलाइएको बैठक आकस्मिक काम परेकाले परामर्शबाटै स्थगित भएको पौडेलले बताए । आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रण गरिएको थियो ।
नेकपामा एमसीसीको विवाद पेचिलो बन्दै गएको बेला बैठक दोस्रो पटक स्थगित भएको हो । दुवै अध्यक्षबीच छलफल पछिमात्र अब बैठकको मिति तय हुने स्रोतले जनाएको छ । नेकपा सचिवालयका बहुसंख्यक नेता एमसीसी पास गर्न नहुने पक्षमा छन् ।