सवारी पासले लियो विवेकको ज्यान, उनीसहित परिवारका ६ जनाको मृत्यु

आइतबार, ३२ जेष्ठ २०७७

पोखरा – पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा गएराति गएको पहिरोमा परी एकै परिवारका ६ जनाको ज्यान गएको छ ।

पहिरोमा परी ६२ वर्षीय तुलबहादुर थापासहित उनकी ५८ वर्षीया श्रीमती मिनकुमारी थापा, छोरी दिर्पा थापा, नाती–नातिनीहरु विवेक थापा, सम्राट थापा र विदिशा थापाको मृत्यु भएको छ ।

१५ वर्षीय विवेक थापाको एसईई परीक्षा अनिश्चित भएपछि माइती घर बस्न आएकी बाग्लुङ जिल्ला जैमिनी नगरपालिका पैञ्यु थन्थाकी ३४ वर्षीया उनकी आमा दिर्पा थापा र बाबुआमासँगै पहिरोमा पुरिएकी हुन् ।

वाग्लुङ घर भइ लामो समयदेखि कुश्मा बजारमा छोरा विवेकलाई पढाएर बस्दै आएकी दिर्पा लकडाउन सुरु भएसँगै माइती गाउँ दुर्लुङ गएकी थिइन । आफू माइतीघर गएर छोरा विवेकलाई बाग्लुङ घर पठाएकी दिर्पाले एक हप्ताअघि मात्रै छोराको न्यास्रो लागेको भन्दै फेरि सवारी पास बनाएर छोरालाई माइती घरमा नै बोलाएकी थिइन ।

त्यही सवारी पासले विवेकको ज्यान गएको छ । उनी घरमै बसेको भए सायद बाँच्थे होला । पढाईमा अव्बल उनी एसईईको तयारी गरेर घरमै बसेका थिए ।

त्यस्तै उक्त पहिरोमा परी कमला विकसहित उनकी आठ वर्षीया छोरी जेनिशा विकको ज्यान गएको छ भने छोरा १२ वर्षीय जेनिश विक अझै बेपत्ता छन् ।