कुवेतबाट आएकी युवतीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं – कुवेतबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचथरको फिदिमस्थित क्वारेन्टिनमा बसेकी उनीमा संक्रमण पुष्टि भएको छ।
कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए।
पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टिनमा गत जेठ ३२ गतेदेखि उनी बसेकी थिइन्। उनको सोमबार स्वाब संकलन गरी पठाइएकामा मंगलबार रिपोर्ट आएको सुवेदीले बताए।
कुवेतबाट उद्धार गरी ल्याइएकी उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो। उनीसँगै विभिन्न मुलुकबाट उद्धार गरेर जिल्लामा ल्याई उक्त क्वारेन्टिनमा राखिएका अन्य तीन जनामा भने कोरोना संक्रमण नदेखिएको सुवेदीले बताए।