जब केपी ओली पक्राउ परे !
काठमाडौं – तत्कालिन सचिव केपी ओली माइन्युट बोकेर वेपत्ता भएपछि वि.स २०२९ साल फगुन १६ गते र १७ गते झापा बैठकले सीपी मैनालीलाई सचिव चुनेको थियो । उक्त सन्देश दिन भुर्इँपत्ताल खोज्दा समेत केपी भेटिएका थिएनन् । केपी मोहनचन्द्रलाई खोज्न विराटनगर गए भन्नेसम्म सुनियो ।
‘पछि साथिहरुले सुनाए, मोहनचन्द्र विराटनगरबाट रानी जोगबनी पुगेको थाहा पाएपछि केपी उतै लागे’ नलेखिएको इतिहासमा आरके मैनालीले लेखेका छन । केपी जोगबनी पुग्दा मोहनचन्द्र भारत छिरिसकेका थिए । बल्लबल्ल केपीले मोहनचन्द्रलाई देहरादुन भन्दा पश्चिमतिरको ठाउँमा उखु गोडिरहेको श्रमिकको रुपमा भेटेछन ।
उनी दुबै जनाले केही समय उखु गोडेछन । केपी सानैदेखि शारीरिक श्रम गर्न रुचाउँदैन्नथे । मोहनचन्द्र केपी भन्दा जाँगरिला त थिए र बेढंगका । केपीले बल्लतल्ल मोहनचन्द्रलाई नेपाल फर्किन राजी गराए र गोरखपुर हुँदै पुनः विराटनगर फर्किन लागेका रहेछन । तर मोहनचन्द्रलाई उनका साथिहरुले विराटनगर नआउनु भनेपछि गोरखपुरबाट वीरगन्ज आइपुगे ।
मोहनचन्द्रले चिनेका पुराना साथिहरुको सम्पर्क खोज्दै १०–१२ दिन त्यतै विताएछन । उनीहरु माक्स, एंगेल, भारतीय कम्युनिस्ट मालेका प्रकाशनहरु तथा अन्य पत्रपत्रिका झोलामा बोकेर हिडेका रहेछन । यस्ता सामान बोकेका साथिहरुलाई राख्न मोहनचन्द्रका वीरन्जिया मित्रहरु डराएछन । साथिहरु डराएको बुझेपछि उनीहरु रौतहटमा रहेका अर्का पुराना मित्र तथा प्रधानपञ्चको घरतिर लागेछन । यस समयमा प्रहरीले झोला खानतलासी गर्ने क्रममा प्रतिबन्धित पाठ्यपुस्तक भेटाएछन ।
त्यसपछि प्रहरीले प्रधानपञ्चको घरमा नपुग्दै नेपाल भारत सिमावर्ती क्षेत्रबाट उनीहरुलाई थानामा लगे । थानामा थप चेकजाँच गर्ने क्रममा चारु मजदुृरको भाषणको एउटा हस्तलिखित लामो नोटसमेत फेला पारेछन् । त्यसपछि के चाहियो । माथिल्लो तहको प्रहरीमा खवर भएछ । प्रहरीले दुबैलाई अलग अलग राखेर वयान लिएछ । सुरुमा त दुबैले आफ्नो नाम ढाँटेछन ।
प्रहरीले तिम्रो साथिले सव सत्यकुरा बताइसक्यो भनेपछि दुबैले आफ्नो बास्तविक नाम बताएछन । मोहनचन्द्रको नाम सुन्ने विक्तिकै तुरुन्तै एक डेढसय प्रहरीले घेरेछन । यसरी २०३० साल कार्तिकमा मोहनचन्द्र र केपी ओली रौतहटबाट पक्राउ परे ।