प्रेरक प्रसंग : आफैले खनेको खाल्डो, आफ्नै चिहान भएपछि..

शनिबार, १३ असार २०७७

काठमाडौं – एक गाउँबाट ४ जना व्यक्तिहरु व्यापार गर्न भनेर परदेश गए । परदेशमा व्यापार व्यवसाय गरेर राम्रो धन कमाए । कमाएको धन लिएर घर फर्किदै थिए, रात पर्यो र एक ठाउँमा बास बसे ।

रातको भोजन गर्ने समयमा उनीहरु बीचमा दुई जना खानेकुरा लिनजाने र दुई जना बास बस्ने ठाउँको रेखदेख गर्न सहमति भयो । आफूहरुलाई पेलेर खाने कुरा लिन पठाएको झोकमा खानेकुुरा लिन गएका दुई जनाले बाटोमा सल्लाह गरे । ‘यार, खानेकुरामा विष हालेर लैजाम् र उनीहरुलाई खान दिम् । उनीहरु मरेपछि उनीहरुको सम्पत्ति पनि हामी दई जना आधा–आधा बाँढेर लिम् ।’

सल्लाह अनुसार तिनीहरु विष हालेको लड्डु लिएर बास बसेको ठाउँ फर्किए । यता बासस्थानमा नै बसेका दुई जनाले पनि सल्लाह गरे । ‘साथी ती दुई जना आउनासाथ हामी तिनीहरुलाई मारिदिउँ । अनी उनीहरुको सम्पत्ति हामी दुई जनाले आधाआधा बाँडेर लिउँ ।’

उनीहरुले तलवार लिएर खानेकुरा लिन गएका साथिहरुको प्रतिक्षा गर्न थाले । उनीहरु आइपुग्नासाथ यिनीहरुले ती दुईजनालाई तलवारले प्रहार गरेर मारिदिए । त्यसपछि उनीहरुको समान आधा आधा गरेर घर फर्किने सुर कसे ।

हिड्न अघि उनीहरुले फेरी सल्लाह गरे, ‘यी त मरिहाले, यिनीहरुको सम्पत्ति पनि हाम्रो भयो । अब घर जान अगाडि के भोकै जानु, यिनीहरुले ल्याएको लड्डे खाएर जाम । यसो भनेर उनीहरुले त्यो लड्डु खाए । तिनीहरु पनि त्यही मरे ।

तसर्थ, छलकपड गर्ने मान्छे आफै छलकपडको सिकार हुन्छ । अरुको कु–भलो नचिताउँ, सबैलाई राम्रो व्यवहार गरौं । सकारात्मक सोचौं । अन्यथा यसैगरी आफूले खनेको खाल्डो आफ्नै चिहान बन्न सक्छ ।