भत्कियो ओली गुट, सचिवालयका सबैले मागे राजीनामा
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्री केपी शर्मा ओली चर्को दबाबमा परेका छन्। अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्य र अधिकांश स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब दिएका हुन्।
कमजोर देखिएका ओली यतिबेला आफू पक्षीय नेताहरुसँगको छलफलमा व्यस्त रहेका छन्। आगामी रणनीतिबारे छलफल गर्न ओलीले आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग बुधबार बिहान परामर्श गरेका थिए। उक्त छलफलमा फराकिलो भएर सबै पक्षसँग छलफल गरी आन्तरिक समस्या समाधान गर्न र पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न आफ्नै गुटका नेताहरुले सुझाव दिएपछि ओली थप दबाबमा परेका छन्।
स्थायी कमिटीमा चर्को आलोचना खेपेका ओली आफ्नै गुटको बैठकमा समेत आलोचित हुन् थालेपछि ठूलो तनावमा छन्। कहिले वामदेव कार्ड देखाएर, कहिले आत्मालोचित भएको नाटक गरेर पटक-पटक पद जोगाउँदै आएका ओलीलाई यसपटक भने उनी पक्षीय नेताहरुले नै राजीनामा दिन सुझाव दिएपछि दबावमा परेका हुन्। विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीका विश्वास पात्रका रुपमा चिनिएका प्रदेश न. ५ का मूख्यमन्त्री शंकर पोखरेलले ओलीलाई राजीनामा दिएर परिस्थितिलाई सहज बनाउन आग्रह गरेका गरे। ओली गुटको बैठकमा पोखरेलले प्रधानमन्त्रीका कारण पार्टीमा ध्रुवीकरण बढेकाले पार्टीलाई एकताबद्ध बनाउन बाटो खुला गरिदिनु उपयुक्त हुने आशय सहितको धारणा राखेका थिए।
पोखरेलको धारणाप्रति ओली असहमत मात्र भएनन् आक्रामक रुपमा प्रस्तुतसमेत भए। आफूले निकै विश्वास गरेको र प्रचण्ड-नेपाल पक्षसँग वार्ताका लागि जिम्मेवारी दिएको नेताले नै राजीनामा दिन उपयुक्त हुने सुझाएपछि ओली रिसाएको स्रोतको भनाइ छ। ओली समूहमा वैचारिक र सम्भावना देखिएका थोरै मध्येका एक हुन् पोखरेल। उनले नै साथ् छोड्ने संकेत गरेपछि ओली थप रक्षात्मक अवस्थामा पुग्ने देखिएको छ।ओलीलाई पार्टी र सरकारमा एकलौटी गरेको, अरुको भूमिकालाई अवमूल्यन गरेको, कमिटी प्रणालीलाई चुनौती दिएको जस्ता आरोप लागिरहेका बेला आफ्नै गुटमासमेत उनी विरुद्धको मत प्रभावशाली बन्दै गैरहेको छ। ओलीका उत्तराधिकारीका रुपमा हेरिएका ईश्वर पोखरेलले पनि पछिल्लो समय ओलीलाई दरिलो साथ् नदिएको चर्चा छ ।
मंगलबारको स्थायी कमिटी बैठकमा पोखरेको भूमिका त्यस्तै देखियो। स्थायी कमिटीमा बोल्ने १७ जनाले ओलीको राजीनामा माग्दा पोखरेल चुपचाप बसेका थिए। पोखरेललाई अवसरवादी नेताको आरोप लाग्ने गरेको छ। त्यसैले उनलाई ओलीले नै विश्वास गर्न छाडेको र जतिबेला पनि कित्ता परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ। ओली-पोखरेल सम्बन्ध बिग्रेकै कारण पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति विघटन गरेको चर्चा अझै सेलाएको छैन। महासचिवसमेत रहेका ओलीका अर्का खास पात्र विष्णु पौडेल पनि पछिल्लो समय ओली कित्तामा दरोसँग उभिएका छैनन्। पार्टीभित्रको विवाद मिलाउने जिम्मा पाएका पौडेलको उठबस प्रचण्ड र नेपालसँग बाक्लिँदो छ।
केही समय अगाडि उनी प्रचण्ड-नेपाल गुटको भेलामा सहभागी भएर त्यसको पुष्टि नै गरेका थिए। घोषित रुपमा पौडेलले ओली कित्ता छाडेको नबताए पनि उनको अध्यक्ष प्रचण्डसँग निकटता बढिरहेको छ। ‘जता मल्कु, उतै ढल्कु’ प्रवृतिका पौडेलले कुनैपनि बेला ओली क्याम्प छाडे अनौठो मान्नु नपर्ने ओली पक्षकै नेताहरु बताउँछन्। केपी ओलीका अर्को खम्बा मानिएका सुवास नेम्वाङ्ग पनि ओली-प्रचण्ड मिलेर जानुपर्ने पक्षका हुन् । प्रधानमन्त्री ओलीका कतिपय कार्यशैलीप्रति नेम्वाङ्गसमेत असहमत रहेको बताइन्छ।
बुधबारको बैठकमा पनि नेम्वाङ्गले फराकिलो सोच बनाएर सबैसँग छलफल गर्न ओलीलाई सुझाव दिएका थिए। घटनाक्रमले नेम्वाङ्गले पार्टीमा निरन्तर कमजोर बन्दै गएका ओलीलाई छाडेर जुनसुकै बेला कित्ता परिवर्तन गर्न सक्ने देखाइसकेको छ। विचार, सिद्धान्त र समग्र पार्टी पद्धति भन्दा पनि प्राविधिक कुरालाई आधार बनाएर पार्टीमा एकलौटी गर्ने ओली प्रवृतिलाई आफ्नै गुटबाट चुनौती देखिएको छ। सिंगो पार्टीभित्रै आलोचनाको शिकार भएका ओलीलाई आफ्नै गुट मिलाउन हम्मेहम्मे परेको देखिन्छ। सबै तिरबाट अवस्था प्रतिकुल बन्दै जाँदा अब उनले प्रधानमन्त्री पदबाट राजीनामा दिने सम्भावना बढेर गएको छ।
यद्दपी राष्ट्रपतीलाई साथमा लिएर संकटकाल लागू गरी पद केही समयका लागि भए पनि पदमा रहिरहने दुष्शाहस गर्नसक्ने वा यसअघि जस्तै नयाँ तुरुप फ्याँकेर सत्ता जोगाउने खेलमा लाग्ने राजनीतिक पन्डितहरुको आँकलन छ। यसै बिच आजै बालुवाटारमा आफूनिकट समुहको बैठकबाट ओलीले राजनितिक संकटको घोषणा गर्दै राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ।