लघुकथा : आमाबुवाको आशीर्वाद र त्यो सुन्दर महल

शुक्रबार, २६ असार २०७७

काठमाडौं – नयाँ जागिर, नयाँ बिवाह , नयाँ शहर, र नयाँ घर । छोरा बुहारीले बोलाएका थिए हामी दुर्इलाई । आफ्नो नंया घरको गृह पुजाको लागि ।

श्रीमान खल्लो मन पार्दै काठमाडौ जानको लागि तयार भए । तर म भने आतुर थिए पहिलोपटक काठमाडौ जानको लागि र छोरा बुहारीको नयाँ घरजम हेर्नका लागि ।

हामी दुई गृह पुजा भन्दा एकदिन अगाडी काठमाडौं नाइट गाडिमा आयौं । काठमाडौंको धुलो, धुवा, कोलाहल, थानकोटको जाम बल्लतल्ल छोराको नयाँ घरमा पुगेऊँ ।

सामान कोठामा राखेर नयाँ घर हेर्नलाई यताउता नजर लगाउन थाले । शहरको नयाँ सामानहरु मेरो लागि एकदमै नौलो थियो। फ्रीज, मेसिन, अलमारी, भित्तामा टाँसिएको टिभी, एसी, वासिङ्ग मेसिन मलाई धेरै नै राम्रो लागेको थियो । र सबैभन्दा धेरै बालकुनीमा बिच्छ्याएको ‘ग्रास मेट’ । एकदम असली घाँस देखिन्थ्यो ।

हेर्दाहेर्दै मेरो नजर त्यहाँ राखिएको रङ्गी, विरङ्गी गमलामा पर्‍यो । गमलामा हरियो पातहरु मेरो गाउँको, घरको आँगनमा भएको तुलसी जस्तै । खुशी मनले हेरि रहेकी थिए ।

भित्रबाट कसैले बोलाएको आवाज सुने । अगाडि गए सोफामा गिलासमा पानी राखेको थियो । मैले बुहारीलाई सम्झाएँ, ‘थाहा छ दुर्गा बुहारी हामी फ्रीजको पानी पिउँदैनौ , घाँटी पक्डन्छ फ्रीजको पानीले मैले अगाडि नै भनेकी थिए तिमिलाई ।’

बुहारीले भनिन, ‘थाहा छ आमा यो पानी गाग्री को हो । यसो चिहाएर हेर्दा फ्रीज छेउमा तामे गाग्री थियो । खुशी लाग्यो, त्यो देखेर । कमसेकम यति ख्याल त गरे छोरा बुहारी ले ।

उहाँ (श्रीमान) त गाउँ देखि नै मन खिन्न पार्दै यहाँ आउनुभाको थियो । उहाँलाई यहाँ आउन मन खुशी थिएन ।नयाँ घरका ठुला–ठुला झ्यालहरु, झ्यालमा सिसा, सिसाबाट बाहिरी दृश्य छर्लङ्ग देखिन्थ्यो । मलाई त ठिकै लागेको थियो तर उहाँलाई अझै पनि गाउँको झ्याल ढोका घरहरुको याद आइरहेको थियो ।

बेलुका खाना खाएर सुत्न लागेका थियौं रातभरको गाडिको थकान त्यसमाथि अनिधो, छोरा–बुहारी केही पाकेटमा लिएर आए र हामीलाई दिन लागे । मैले सोधे, ‘के हो बुहारी ?’ बुहारी ले भनिन, ‘तपाईंको लागि साडी र बुबाको लागि धोती कुर्था छ यसमा ।’

मैले भने, ‘यो किन ? किन चाहिन्थ्यो र हामिलाई ?’ उनले भनिनन्, ‘आमा तपाईंले त भन्नुभएको थियो नि, पुजामा सेतो कपडा लगाउछन भनेर ।।। ।’

‘त्यो त हो तर पुजामा त तिमिहरु दुई बस्नुपर्छ, तिमीहरु दुई यो कपडा लगाउm न’ मैले भने । उनले फेरी थपिन, ‘हैन आमा, पुजा त तपाईंहरु आमा–बुबाको हातबाट सम्पन्न हुन्छ ।’

‘तर छोरा घर तिमिहरुको हो, तिमिले बनाएको घर हो छोरा ।’ यो घर बनाएको पनि तपाईंको आशीर्वाद ले हो, र गृह प्रबेश सम्पन्न पनि तपाईंको आशीर्वाद ले नै हुन्छ ।’ छोराले जवाफ दियो ।

‘पुजामा त तपार्इँहरु दुई नै बस्नुपर्छ ।’ जबर्जस्ती हामीलाई कपडाको प्याकेट थमाइदिए र छोरा बुहारी आफ्नो कोठातिर गए ।

यी दुर्इको आमा–बुबाको लागि माया, सम्मान पाएर मेरो मन खुशी भयो । सन्तोषको बुबा (श्रीमान) तिर हेरे र भने, ‘अझै पनि केही भन्नू छ तपार्इँलाई ?’

उहाँले भन्नुभयो, ‘केही छैन । घर त्यो हैन जुन इँटा, ढुङ्गा, दिवाल र ढोकाले बनेको हुन्छ, घर त्यो हुन्छ जहाँ आफूसँगै हुन्छ । पहिलो पटक काठमाडौंको नयाँ घरको यति उचाईबाट डुब्न लागेको घाम हेर्दै छु ।’

मलाई बिश्वास गर यो शहरको घाम अहिले निकै सुन्दर देखि रहेको छ । भाग्यको रेखाहरु पढ्न त आउदैन तर पनि छोराबुहारीको अनुहार राम्रोसँग पढ्न सक्छु । जसमा सुर्यको प्रकाश चम्की रहेको थियो र मुस्कान चम्की रहेको थियो ।

हरेक मुल्यवान चिजलाई उठाउनको लागि झुक्नु नै पर्छ, आमा बुबाको आशीर्वाद पनि यिनैमा एक हो ।