प्रधानमन्त्री ओलीले ‘अयोध्या नेपालमै छ’ भनेपछि भारतले मुख खोल्यो, लगायो गम्भीर आरोप
काठमाडौं – हिन्दुहरुको प्रसिद्ध धर्मग्रन्थ रामायणमा वर्णन गरिएको अयोध्या देशका विषयमा प्रधानन्त्री केपी शर्मा ओली दिएको अभिव्यक्तिले देश तथा विदेशमा चर्चा पाएको छ । नेपालका बुद्धिजिवीहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेपाल भारत सम्बन्धमा थप दरार उत्पन्न भएको भनेर विश्लेषण गरिरहेका छन भने भारतमा पनि यसको चर्को आलोचना गरिएको छ ।
प्रधानमन्त्री ओलीले सोमबार अध्योध्या नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएका थिए । विविसी नेपालीका अनुसार भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई राजनीतिक विवाद उक्साउने भन्दै भारतलाई चोट पुर्याउने आश्चर्यजनक कदम भनिएको छ।
सोही समाचारमा जनाइए अनुसार सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन्। उनले भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही भनेर भनेको उल्लेख गरिएको छ।
अर्को भारतीय समाचार संस्था आइएएनएसले लेखेको समाचारमा ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर उल्लेख गरिएको छ। नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको उनको अभिव्यक्तिलाई देशभित्रै मानिसहरूले विश्वास नगरिरहेको भनेर उसले लेखेको छ।
एनडिटीभी डट कममा प्रकाशित समाचारमा ओलीको अभिव्यक्तिले ‘रामका अनुयायीहरूलाई उत्तेजित पार्ने देखिएको’ लेखिएको छ।
देशभित्रै पनि कतिपयले सीमा विवादका कारण छिमेकी भारतसँगको सम्बन्ध चिसिएको बेला उनको यो पछिल्लो टिप्पणीले दुई देशको सम्बन्ध सुधार्नमा सघाउ नपुग्ने चिन्ता समेत व्यक्त गरेका छन्। सोमवार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले ‘नेपाल सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको’ भन्ने टिप्पणी गरेका थिए।
प्रधानमन्त्रीको सम्बोधनमा के छ ?
‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले भारतका राजकुमार रामलाई सीता दियौँ। भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ। अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,’ प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भनेका छन ।
ओलीले अयोध्या भारतमा रहेको भए त्यहाँका राजाका छोरा विवाहका लागि कसरी जनकपुर आइपुगे भन्ने प्रश्न समेत उठाएका छन्। ‘यहाँको जनकपुर वहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ। कल्ले के गर्या छ। त्यस बेलाका जमानामा न टेलिफोन, न मोबाइल ! कताबाट थाहा होस् ! थाहा हुन पनि सम्भव थिएन ! उनले भनेका छन्।