मानिसको सोचाईले उसको भाग्य निर्धारण गर्दछ

आइतबार, ४ साउन २०७७

काठमाडौं – रेल्वे स्टेसनमा एउटा माग्ने कचौराभरी पेन्सिल लिएर बेच्न बसिरहेको थियो । त्यही बाटो भएर हिडिरहेका एकजना कर्मचारीले माग्नेलाई एक डलर दिए तर उनले पेन्सिल भने लिएनन् । उनी सरासर रेलतिर लागे । रेल गुड्नै लागेको बेला उनी हत्तपत्त बाहिर निस्के र त्यो माग्ने बसिरहेको ठाउँमा गए ।

उनले एक थुप्रो पेन्सिल समाउँदै भने, ‘म केही पेन्सिल किन्छु, तर यसको दाम त उचित छ नि हैन ।’ आखिर तिमी एक व्यापारी हौ र म पनि एक व्यापारी नै परेँ ।’ यति भन्दै उनी रेलतिर डौडिए ।

छ महिना पछि ति कर्मचारी एउटा पार्टीमा सहभागी भएका थिए । त्यो माग्ने पनि पार्टीमा आएको रहेछ । उ सुट टाई लगाएर ठाँटिएको थियो । माग्नेले त्यस कर्मचारीलाई नियाल्यो र उ भएतर्र्फ लाग्यो । माग्नेले कर्मचारीलाई भन्यो, ‘तपाईँ मलाई चिन्नुहुन्न होला तर म तपाईँलाई चिन्छु ।’

उसले छ महिना अघि रेल्वे स्टेसनमा भएको घटनाको वेली विस्तार लगायो । उसको कुरा सुनेपछि कर्मचारीले भन्यो, ‘ए होत मैले सम्झँे तर त्यतिवेला तिमी माग्न बसेका थियौ । अहिले यहाँ सुट टाईमा ठाँटिएर के गर्दैछौं ?’

उसले भन्यो, ‘त्यस दिन तपाईले मलाई कति ठूलो गुन लगाउनु भयो तर तपाइँलाई त्यसको हेक्का छैन । तपाईँले मलाई स्वाभिमान सिकाइदिनु भयो । तपाइँले पेन्सिल हातमा लिदै भन्नु भएको थियो, ‘यसको दाम त उचित छ नी हैन ? आखिर तिमी पनि एक व्यापारी हौ र म पनि व्यापारी परेँ ।’ तपाईँ त्यहाँबाट हिडेपछि मैले सोचें म यहाँ के गरिरहेको छु ? म किन माग्न बसिरहेको छुु ? मैले जीवनमा केही सृजनात्मक काम गर्ने सोच बनाएँ । मैले काम गर्न थालेँ र आज म यहाँ छु । त्यसदिन तपाईँले मेरो स्वाभिमान फर्काइदिनु भयो । त्यसका लागि म यहाँलाई धन्यबाद दिन चाहान्छु । त्यस घटनाले मेरो जीवननै परिवर्तन भयो ।’

माग्नेको जीवनमा के परिवर्तन भयो ? त्यो परिवर्तन हो उसको स्वाभिमानको बृद्धि, जसले उसको कार्यक्षमतामा बृद्धि ल्यायो । यो स्वाभिमानको उदाहरणको एउटा नमूना हो । तसर्थ, मानिसले सोच्ने कुराहरुले धेरै कुराको निर्धाण गरेको हुन्छ । मानिसको सोचाईले उसको भाग्य निर्धारण गर्दछ ।