प्रेरक प्रसंग : सफलता ९९ प्रतिशत असफलता हो

मंगलबार, ६ साउन २०७७

काठमाडौं – एउटा भनाई छ, ‘सफलताले सफलता र असफलताले असफलता जन्माउँछ ।’ यो साँचो हो । खेल क्षेत्रमा प्रायः के हुन्छ भने खेलाडीको मनोवल खस्केको बेलामा प्रशिक्षकले उसलाई राम्रो खेलाडीसँग प्रतिस्पर्धा गराउँदैन । यदी उ पराजित भयो भने उसको मनोवल झन खस्किन्छ । बरु प्रशिक्षकले उसलाई कमजोर खेलाडीसँग प्रतिस्पर्धा गराउँछ र त्यस जितले उसको मनोवल बढ्छ ।

यस जितले अर्को खेलमा उ भन्दा अझ दक्ष खेलाडीसँग प्रतिस्पर्धा पर्यो भने पनि उसमा आत्मविश्वास बढेको हुन्छ । यो प्रक्रिया त्यतिन्जेलसम्म चलिरहन्छ जबसम्म उ फाइनल खेलका लागि पूर्ण रुपमा तयार हुँदैन ।

प्रत्येक सफलतासँग आत्मविश्वास बढ्दै जान्छ । र आउँदा प्रतियोगिताहरुमा विजयी हुन सहज हुन्छ । त्यसैले सबै शिक्षक, अभिभावक, सुपरभाइजर जो सुकैले पनि आफ्ना बालबालीकाहरुलाई सजिलो काम गर्न पठाएर उनीहरुको आत्मविश्वास बलियो पार्दै लैजानु पर्दछ । यसले उनीहरुको स्वाभिमान बढ्दै जान्छ । यस्तो सकारात्मक कार्यमा प्रोत्साहन पनि जोडिदिने हो भने उनीहरुमा स्वाभिमानी प्रबृति हुर्किदै जान्छ । हाम्रो जिम्मेवारी भनेको असफलताको सिक्रीलाई तोडेर बालबालीकाहरुलाई सफलताको सिक्री बाँढ्नु हो ।

मानिसहरु एउटा कुरामा असफल भयो भने पनि आफूलाई असफल सम्झन्छन । उनीहरुको एउटा असफलतालाई सम्पूर्ण असफलता मान्न सकिदैन भन्ने थाहा हुँदैन । म पनि असफल भएको हुँला तर म असफल व्यक्ति होइन नी । म ठगिएको हुँला तर म आफै ठग त होइन नी । तपाईँ जब सम्पूर्ण प्रयासहरु त्याग्नुहुन्छ तब तपाईँ असफल हुनुहुनेछ ।

सफल बन्नका लागि ९९ प्रतिशतसम्म असफलता स्वीकार्ने साहस हामीमा हुन जरुरी छ । जब असफलताले हार्न थाल्छ तब हाम्रो असफलता पनि एउटा सिँढी बनेर हामीलाई सहयोग गरेको थाहा पाउँछौं ।