कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु

बुधबार, ७ साउन २०७७

विराटनगर – कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारथ एक वृद्धको मंगलबार राती मृत्यु भएको हो ।

गत साउन १ गते प्रतिष्ठानस्थित कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको मंगलबार राति निधन भएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माले जानकारी दिए।

प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. शर्माले बताए। मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ। मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यवस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो। प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४१ पुगेको छ।