कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

आइतबार, ११ साउन २०७७

काठमाडौँ – कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । धनुषाका ३८ वर्षीय पुरुषको आइतबार वेलुका मृत्यु भएको हो ।

उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटोमै मृत्यु भएको कोभिड १९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।

धनुषा जिल्लाको सहिदनगर नगरपालिकास्थित डुमरीयाका ३८ वर्षीय पुरुषमा केही दिन देखि कोरोनाको लक्षण देखिएको थियो । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आज नै उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सुंख्या ४६ पुगेको छ ।