क्यान्सर पीडित तामाङलाई पूर्वमन्त्री बस्नेतको सहयोग

बिहिबार, १५ साउन २०७७

काठमाडौं–पूर्व मन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले माओवादी द्वन्द्वमा घाइते भइ क्यान्सर रोगबाट पिडित सुनकोसी गाउँपालिका –५ का नैनबहादुर तामाङलाई रु ५०००० नगद सहयोग गरेका छन् ।

माओवादी युद्धमा लागेको गोलीको छर्राको कारण क्यान्सर भएका उनीबारे हालै समाचार प्रकाशित भएको थियो । उनी माओवादीका लडाकु कमान्डर थिए ।

कमजोर आर्थिक अवस्था भएको कारण उनले गोलीको छर्रा अप्रसेसन गरेर निकाल्न सकेका थिएनन् । उनले आर्थिक सहयोगका लागि गृहमन्त्री रामबहादुर थापादेखि नेकपाका अध्यक्ष प्रचण्डसम्मलाई गुहार गर्दासमेत केही हुन नसकेकामा दुखेसो ब्यक्त गरेका थिए ।

आर्थिक समस्याकै कारण उपचारबाट बन्चित भएको समाचार थाहा पाएपछि नेता बस्नेतले सहयोग रकम पीडितलाई हस्तान्तरण गरेका हुन् । फरक राजनीतिक आस्था र विचारका लागि लडेका भए पनि मानवीय आधारमा आफूले सहयोग गरेको नेता बस्नेतले बताए ।

उक्त अवसरमा नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद निमा लामा, नेका. सिन्धुपाल्चोकका युवा नेता युधीर पौडेल लगायतका नेताहरु सहभागी थिए ।