कोरोना संक्रमणबाट जगदम्बाका सिइओको मृत्यु, मृतकको संख्या ५४ पुग्यो

शुक्रबार, १६ साउन २०७७

वीरगञ्ज – कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘उहाँ मुटुको रोगी हुनुहुन्थ्यो, कोभिड लागेपछि अवस्था गम्भिर नै थियो,’ डा. उपाध्यायले भने, ‘आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार ग¥यौं तर बचाउन सकिएन ।’

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ ।

बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । योसँगै पर्सामा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने देशभर ५४ जनाको मृत्यु भएको छ ।