प्रेरक प्रसंग : महान हुनुको मुख्य आधार जिम्मेवारी बहन गर्न राजी हुनु हो
काठमाडौं – प्राचीन भारतीय ज्ञानले के सिकाएको छ भने हाम्रो पहिलो जिम्मेवारी समाजप्रति, दोश्रो परिवारप्रति र तेश्रो आफूप्रति हुन पर्दछ । जब यो क्रमबद्धता उल्टो हुन जान्छ जब समाजको पतन हुन थाल्दछ ।
समाजिक जिम्मेवारी प्रत्येक नागरिकको नैतिक दायित्व हुनुपर्दछ । जिम्मेवारी र स्वतन्त्रता सँगसँगै चल्ने कुरा हो । आफ्नो भार आफै उठाउन सक्ने चरित्र राम्रो नागरिक हुनुको सङ्केत हो ।
चोर फटाहहरुको उत्पातले समाज विग्रेको होइन बरु असल व्यक्तिहरुको अल्छिपनले गर्दा समाज विग्रेको हो । यदी असल व्यक्तिहरुले चुप लागेर विनासलाई सहदै जाने हो भने तिनीहरुलाई कसरी असल मान्न सकिन्छ ? के उनीहरुले आफ्नो सामाजिक उत्तरदायित्वलाई पुरा गरिरहेका छन त ?
एउटा दश बर्षको बालक आइसक्रिम पसलमा गयो र कुर्चिमा कसेकी पसलकी कामदारलाई आइसक्रिमको मूल्य सोध्यो । ती कामदार महिलाले भनिन् ‘पचहत्तर सेन्ट ।’
बालकले आफ्नो हातमा भएका सिक्काहरु गन्न थाल्यो । उसले फेरी सोध्यो, ‘त्यो सानो चाँहि आइसक्रिमको कति पर्छ नी ? ती महिलाले तत्कालै भनिन्, ‘पैसठ्ठी सेन्ट ।’ बालकले भन्यो, ‘त्यसो भए मलाई सानो कपको आइसक्रिम दिनुहोस् ।’ त्यस बालकले आइसक्रिम खायो र बिल तिरेर हिड्यो ।
जब ती महिला खाली प्लेट उठाउन टेबुलमा गइन, तब उनलाई दया लाग्यो । प्लेट मुनी एक दश सेन्टको सिक्का बक्सिस् (टिप्स) छोडिएको थियो । त्यस केटोले आइसक्रिम अडर गर्नुभन्दा पहिलानै ती महिलाको बारेमा सोचेको रहेछ । त्यहाँ उसको संवेदनशिलता देखियो । उसले आफ्नो भन्दा पहिला उसको बारेमा सोचेको रहेछ ।
यदी हामी सबैले त्यस केटाले जस्तै सोच्ने हो भने हाम्रो समाज धेरै असल हुने थियो । हामीले अरुका प्रति सहृदयी, सहयोगी हुन पर्दछ । तसर्थ महान् हुनुको मुख्य आधार जिम्मेवारी बहन गर्न राजी हुनु हो । सामाजिक उत्तरदायित्व बहन गर्न तयार हुनु हो ।