प्रेरक प्रसंग : आफू विजयी हुन अरुको जितको बारेमा पनि सोचौं

आइतबार, १८ साउन २०७७

काठमाडौं – मृत्युपश्चात् एउटा व्यक्तिलाई सेन्ट पिटरले स्वर्गमा जानेकी नर्कमा भनेर सोधेछन । त्यस व्यक्तिले पहिला दुबै ठाउँ हेर्न पाए हुन्थ्यो भनेछ । सेन्ट पिटरले उसलाई पहिला नर्कमा लगेछ । त्यहाँ एउटा ठूलो हलको टेबुलमा विभिन्न परिकारहरु सजाइएका थिए ।

उसले दुःख र हतासपूर्ण अनुहार भएका मानिसहरु लाम लागेर उभिएको पनि देख्यो । उनीहरु भोका जस्ता देखिन्थे र उनीहरुको मुहारमा खुशीयाली थिएन । उसले अर्को एउटा कुरा देख्यो, उनीहरुको हातमा चार फुटको काँटा र चम्चा बाँधिएको थियो । उनीहरु टेबुलबाट खाना झिकेर खाने प्रयास गरिरहेका थिए तर खान भने सकिरहेका थिएनन् ।

त्यसपछि सेन्ट पिटरले उसलाई स्वर्गमा लगे । त्यहाँ पनि ठूलो हलमा लामो टेबुलमा धेरै प्रकारका खाना राखिएको थियो । त्यहाँ पनि मानिसहरु लाम लागेर उभिएका थिए र उनीहरुको हातमा पनि चार फूट लामो काँटा चम्चा नै बाँधिएको थियो । तर यहाँका मानिसहरु रमाइरहेका थिए र स्वस्थ देखिन्थे । यहाँका मानिसहरुले आफैले खाना खाने गरेका थिएनन् । उनीहरु एकले अर्कालाई खाना खुवाई रहेका थिए ।

किनभने उनीहरुले आफ्नो बारेमा मात्र सोचिरहेका थिएनन्, यही कुरा हाम्रो जीवनमा पनि लागू हुन्छ । जब हामी हाम्रा ग्राहक, परिवार, जागिरदार, कर्मचारीका बारेमा सोच्न थाल्छौं, हामी आफसेआफ विजयी हुन थाल्छौं ।