तपाईँ संसार बदल्न सक्नु हुन्न ?

मंगलबार, २७ साउन २०७७

काठमाडौं – ‘बाह्र बर्ष ढुङ्ग्रामा हाले पनि कुकुरको पुच्छर बाङ्गाको बाङ्गै’ यो उखान निकै सुनेको हुनुपर्छ तपाईले । हो, त्योसो भए यहाँ परिवर्तन ल्याउनु छ भन्ने मानिस पनि मनग्गे भेटेको हुनुपर्छ । यी दुवै अति हुन सक्छ तथापि तपाईचाहीँ भ्रममा नपर्नुस् । तपाई संसार बदल्न सक्नु हुन्न । जिन्दगीभर कोसिस गरेर तपाई संसारको त के कुरा, एउटा बच्चालाई पनि बदल्न सक्नु हुन्न । तर प्रतिभालाई उसको स्वाभाविक लयमा विकसित हुनमा सहयोग पुर्याउन भने अवश्य सक्नुहुन्छ ।

एउटा बीज उमार्न तपाईले केही गर्नु पर्दैन । बस, तपाई उसको माटो, घाम, हावा र पानी नछेक्नुस् । मानिसले आफ्नो विकास आफै गर्छ । तपाईले उसका लागि केही गर्नु पर्दैन । बस, तपाई उसका लागि बाधा नबनिदिनुुस् । सानोमा हरेक बच्चालाई लाइ लाग्छ, ‘मेरो बाबा जे पनि गर्न सक्नुहुन्छ ।’ उसको बाबा सर्वशक्तिमान् हो ।

बिस्तारै उसको यो सोचमा परिवर्तन आउँछ र भन्छ, ‘मेरो बाबा केही गर्न सक्नुहुन्न तर म सक्छु ।’ एक दिन म यो संसारमा परिवर्तन ल्याउछु । केही समय यो सोच बढ्छ । २४ वर्ष पुगुन्जेल पनि उसको यो भ्रम गएको हुँदैन । उसलाई लागिरहन्छ, म बिना यो संसार चल्न सक्तैन । म बिनाको यो संसारको केही महत्तव छैन् । कतै बिहे व्रतबन्ध या कुनै पार्टीमा ऊ गएन भने उसलाई लाग्छ, त्यहाँ रमाइलो भएन होला । त्यस्तो कार्यक्रममा पुगेकालाई ऊ सोध्ने पनि गर्छ, ‘मलाई फलानाले सोध्यो ?’ अब भन्नेले पनि गफ हाँकिदिन्छ, ‘ए तँलाई त सबले सोध्दै थिए ।’

भ्रममा नपर्नुस् तपाई हुनु र नहुनुले यो संसारलाई खासै फरक पादैन । गान्धी, हिटलर, माक्र्स, नेपोलियन आए गए । यो संसार उसै गरी चलिरहेको छ । जसरी रुखको एउटा पात झरेर रुखलाई कुनै फरक परेन, उनिहरु हुनु र नहुनुले यो संसारलाई कुनै फरक परेन । त्यस कारण तपाई यो संंसारमा म फरक ल्याउँछु, म यो संसार बदल्छु भन्ने भ्रममा नपर्नुस् ।

बस, तपाई आफ्नो काम गर्नुस् र काममा आन्नद लिनुस् । काम मनपर्याे भने. मानिसहरु तपाईलाई स्वत पछ्याउन थाल्नेछन् । केवल तपाई आफूलाई बदल्ने कुरा मात्र सोच्नुस् । यो संसार बदल्न ठेक्का दिएर तपाइलाई कसैले यहाँ पठाएको होइन ।