बाजुरामा बाढी–पहिरोमा परि दुई जनाको मृत्यु, दुई घाइते
बाजुरामा बाढी र पहिरोमा परेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।अछामको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी एक बालिकाको मृत्यु भएको हो।
खप्तड छेडेदह गाउँपालिका ५ की तीन वर्षीया सनिका बुढाको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घटनामा पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएका छन्।
गए राति सुतेको बेला घरमाथिबाट आएको पहिरोमा परी बालिकाको मृत्यु भएको र दुई घाइते भएका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।
पहिरोमा परी घरको सबै सामान नष्ट हुनुका साथै दुईवटा बाख्रासमेत मरेका छन्।
त्यस्तै बाजुराको बूढीनन्दा नगरपालिका ६ मा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ। घट्टमा सामल पिस्न गएको बेला स्थानीय बड्डीगढ नदीले बगाउँदा स्थानीय भीनु लोहारको मृत्यु भएको छ। उनको शव खोलाको तीरमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।