नेपाली काँग्रेस र काँग्रेसमा लिगेसीको लफडा

बुधबार, १० भाद्र २०७७

विराटनगर – नेपाली काँग्रेसको स्थापना बडो जटिल समयमा भएको थियो । जहानियाँ राणाशासन थियो, विधीको शासन थिएन । यही परिस्थितिमा काँग्रेसको जन्म भएको हो ।

काँग्रेस स्थापनाको मुख्य उद्येश्य जनप्रतिनिधीहरुको हातमा राष्ट्रलाई सुम्पिनु र विधी विधानले राज्य व्यवस्था चलाउनु थियो । यही उद्येश्य र अभिष्टले पार्टी निमार्ण भयो र विभिन्नहरु बन्न थाले ।

सुरुमा वि.स २००३ सालमा देविप्रसाद सापकोटा अध्यक्षतामा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसको गठन भएको थियो भने नेपाली राष्ट्रिय काँग्रेस टंक प्रसाद आचार्यको सभापतित्वमा गठन भएको थियो । त्यतिखेर टंक प्रसादको सभापतित्वमा गठन भएको काँग्रेसमा विपी कोइराला कार्यकारी सभापति थिए ।

त्यसकै पृष्ठभुमीमा उस्तै लक्ष्य रारख २००४ सालमा सुवर्ण समशेरले महेन्द्र विक्रम शाहाको अध्यक्षतामा नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना गरे ।

अब यहाँनेर आएर २००६ मा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसका बीचमा एकताको घोषणा भयो । यो मुलत विपी कोइराला र सुवर्ण शमशेरको सक्रियतामा एकता भएको थियो ।

त्यो एकतापछि अहिले हामी भन्ने गरेको नेपाली काँग्रेस र काँग्रेसको चारतारको एेतिहासिक घोषणा सभापती मातृका कोइराला र महेन्द्र विक्रम शाहले संयुक्त रुपमा घोषणा गरे, जुन अहिलेसम्म कायम छ ।

२००७ सालको सम्मेलनवाट क्रान्ति गर्ने घोषणा गरेर क्रान्तिको नेतृत्व मातृका प्रुाद कोइरालाले गरेका थिए । उक्त क्रान्तिलाई जीवन दिने काम विपी कोइराला र सुवर्ण समशेर गरेका थिए ।

२००९ सालतीर पार्टीको पाँचौ महाअधिवेशनमा विपी कोइराला नेपाली काँग्रेसको सभापति भए। त्यसपछि छैठौ महाअधिवेसनमा सुवर्ण समशेर नेपाली काँग्रेसको अध्यक्षमा निर्वाचित भए । जुन २०१२ सालको कुरा हो ।

२०१२ मै विशेष अधिवेशन विराटनगरमा भयो । त्यसमा विपी कोइराला पुनः सभापतिमा चुनिए ।

२०१६ मा काठमाडौंमा भएको सातौ महाअधिवेशनले पुनः विपी कोइरालालाई नै सभापति चयन गर्यो । २०४८ सालतीर कृष्ण प्रसाद भट्टराइलाई कार्यवाहक सभापतिको रुपमा झापाको महाअधिवेशनले चुन्यो।

२०५३ मा भएको नवौ महाअधिवेसन र २०५७ मा भएको अधिवेशनबाट गिरिजा प्रसाद कोइराला पार्टी सभापति भए । त्यस्तै, एघारौ महाअधिवेसन अर्थात २०६२ मा पुनः गिरिजा प्रसाद कोइराला तेश्रो पटक नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भए ।

गिरिजा प्रसाद कोइरालाको निधनपछि २०६७ सालमा शुशिल कोइराला कार्यवाहक सभापति चुनिए । अहिले शेरवहादुर देउवाले पार्टी सभापतिको जिम्मेवारी सम्हाली रहेका छन ।

नेपाली काँग्रेसले यहाँसम्म आइपुग्दा धेरै उतार चडाव भोग्नु परेको छ । यो क्रममा सबैभन्दा संकटमय, जोखिमसमयमा पार्टी संचालन गर्नु र जिवन्त राखिराख्नु अर्को चुनौती थियो । उक्त चुनौतीपूर्ण समयमा विपीलेनै नेपाली काँग्रेसको नेतृत्व गरेका थिए ।

नेपालको तत्कालिन राजनैतीक अवस्थालाई अन्तरराष्ट्रियकरण गरेर जनमत काँग्रेसको पक्षमा पार्दै नेपाली काँग्रेसलाई राष्ट्रमा स्थापित गराएका थिए ।

विशेषगरी २००७ सालको क्रान्तिको घोषण गर्दा मातृका नेपाली काग्रेसको सभापती भएपनि पार्टी संचालन चै विपी कोइरालाबाटै भएका थियो ।

त्यसपछि नेपालमा जति उपलव्धीहरु भए सबै नेपाली काँग्रेसकै नेतृत्वमा भएका छन । २०१४ को अधिवेशनपछि नेपाली काँग्रेसले आफ्नो उद्येश्य र अभिष्टमा सफलता प्राप्त गर्यो तर त्यो दीर्घकालसम्म रहन सकेन र २०१७ मा प्रतिगमन भयो ।

२०१७ देखि २०३९ सम्म विपी कोइराला निरन्तर बहुदलको प्रचारमा जनमत बनाउन लागि परे । यसै क्रममा २०३३ तीर राष्ट्रिय मेलमिलापको नीति लिएर जीवन दाउमा राख्दै नेपाल प्रवेश गरेर विपीले नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेका थिए । त्यसपछि २०३६ सालमा विद्यार्थी आन्दोलन भयो र जनमत संग्रह पनि ।

त्यो वेलासम्म नेपाली काँग्रेस विपी कै वरीपरी थियो र उनको अवसानपछि पनि एकछत्र अर्थात २०५३ र २०६२ को अधिवेशनबाट गिरिजा कोइराला सभापति रहे र त्यसपछि पनि शुशिल कोइराला २०६७ को अधिवेशनबाट सभापति भए ।

यसरी हेर्दा नेपाली काँग्रेसमा सबैभन्दा बढि नेतृत्व कोइराला परिवारबाटै भयो र कोइराला परिवारबाटै नेपाली काँग्रेस स्थापित भएको देखिन्छ र नेपाली काँग्रेस भनेकै विपी भनेर बुझ्न थालिएको छ । नेपाली काँग्रेस भनेकै कोइराला परिवारको बोध हुन्छ।

कोइराला नै काँग्रेसको लिगेसी

यही कुरावाट होला काँग्रेसभित्र संस्थापन र इतर संस्थापनको कुरा उठ्छ । यहाँनेर पार्र्टी नेतृत्व कसको छ, त्यसैलाइ संस्थापन भन्ने गरिएको छ तर त्यो भन्दा पनि नेपाली काँग्रेसभित्र संधैको संस्थापन कोइराला नै हुन ।

अहिले लिगेसीको कुरा प्रखर रुपमा उठाइएको छ । यो कुरा कोइराला परिवारभित्रैबाट पनि उठिरहेको छ र काँग्रेसभित्रै कोइरालासँग फरक बस्नेले पनि लिगेसीको कुरा उठाएका छन।

कोइराला लिगेसीको कुरा, लिगेसीको यो विचार यसरी आउनु फरक सोंच भएकाले पनि स्थायी संस्थापन भनेकै कोइराला हुन भन्ने प्रत्यक्ष अप्रत्यक्ष स्विकारेको देखिन्छ ।

अर्को तर्फ केही समय पूर्वसुजाताको निवास र विराटनगरमा सुजता फाउण्डेशनको कार्यक्रममा तिन कोइराला एक ठाँउमा उभिएको उद्घोष गरे । यो पनि कोइरालाको लिगेसीलाई मजबुत बनाउन गरेको देखियो ।

एकातीर डा. शेखर कोइराला ‘राजनीतिमा र चुनावमा, लिगेसी नै अन्तिम हो’ भन्ने कुरा मान्दैनन् । तर यसो भन्दै उनी आफै यो लिगेसीको मन्चमा उभिएर हामी तीन कोइराला एक भयौ भनेर घोषणा गर्छन । अर्कोतर्फ महामन्त्री डा. शशांक कोइराला पनि आफू सभापतिको उम्मेदवार भएको उदघोष गर्छन । यो विषय दुबै कोइरालाले शेरवहादुर देउवा, रामचन्द्र पौड्याल, कृष्ण सिटौलालार्र्इ बोधार्थ दिएको रुपमा व्याख्या गर्न सकिन्छ ।

यहाँनेर दुबै कोइराला सभापतिमा इच्छुक देखिन्छ र दुबै काइराला लिगेसी भित्रै पर्छन । यस्तो अवस्थामा यी दुर्इ कोइराला मध्ये लिगेसीमा पनि नजिकको लिगेसी अर्थात नैसर्गिक लिगेसीका रुपमा डा. शशांकलार्इ लिन सकिने विधमान अवस्था छ ।

तर डा. शेखर कोइरालाले ‘लिगेसी नै सवैथोक होइन, लिगेसी नै अन्तिम होइन’ भनेकाले उनी काममा विश्वास गर्छन भनेर काँग्रेसीले बुझ्नेछन । कोइराला भन्छन, ‘कसले कति काम गरेको छ र कार्यकर्ताले कसलाई बढि मन पराउँछन, यसको मुल्याङ्कन गर्नुपर्छ । को कति संगठन विस्तारमा लागेका छ ? को कति कार्यकर्ता माझमा प्रिय छ र रुचाइएको छ ? यसले मुल्य भुमिका खेल्छ । लिगेसी पछिको कुरा हो ।’

उनको भनाईको अर्थ लिगेसी बोकेका महामन्त्री डा. शशांक प्रति कटाक्ष गरेको बुझिन्छ । लिगेसीको कुरा गर्दा नेपाली काँग्रेसमा विपीपछि गिरिजा प्रसाद केइराला र गिरिजा प्रसाद कोइरालापछि शुशिल कोइराला । यसरी त्यो विरासत कोइराला परिवार्ले सम्हाल्दै आएको छ ।

लिगेसीभित्र पनि विपी पुत्रमा त्यो लिगेसी आएन । विपीपछि विपी पुत्रले त्यो बिरासतलाई निरन्तरता दिन सकेन । यहाँनेर क्रमभंग गर्दै गिरिजा प्रसाद कोइरालामा त्यो नेतृत्व आयो र धेरै टाढाका शुशिल केइरालासम्म पुग्यो र अन्त्यमा विरासतको अन्त्य भयो ।

गिरिजा प्रसाद कोइरालाबाट विपी पुस्ताको क्रमभंग भएको देखिएको हुदा क्षमता, योग्यता र जनप्रियताले गर्दा गिरिजा प्रसाद कोइराला र शुशिल कोइराला पार्टीको नेतृत्वमा आए । यही कुराको उद्घाटन सायद डा. शेखर कोइरालाले ‘लिगेसी मात्रै सबै कुरा होइन, लिगेसी नै अन्तिम होइन’ भनेको हुनुपर्छ । यसरी आफूलालाई गिरिजा र शुशिलसँग जोड्न खोजेको अर्थमा पनि बुझ्न सकिन्छ । जुन कुरा नेपाली काँग्रेसभित्र लिगेसीमा उनी छदैछन पार्टीमा जनबल, जनआधार पनि क्रमश बढाउँदै गएका छन । उनको भनाईको तात्पर्य सायद यही होला ।