धादिङको गजुरीमा पहिरो जाँदा २ वटा कन्टेनर पुरिए, पृथ्वी राजमार्ग अवरुद्ध

बुधबार, ७ असोज २०७७

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा पहिरो जाँदा २ वटा कन्टेनर पुरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट एचआर ३३–९९०१ को कन्टेनर पुरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार गजुरी गाउँपालिका–१ स्थित गलौंदीमा सडक माथिबाट खसेको पहिरोमा सवारी साधन पुरिएका हुन् ।

पहिरोका कारण सडक समेत अवरुद्ध भएको छ । वर्षा जारी रहेका कारण पहिरो हटाउन काम समेत प्रभावित भएको प्रहरीको भनाइ छ ।

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।