थप ९ कम्पनीका स्यानिटाइजर उत्पादन र प्रयोगमा रोक
काठमाडौं – औषधि व्यवस्था विभागले स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रासायन प्रयोग गरेर ह्यान्ड स्यानिटाइजर बनाएका थप नौ कम्पनीको उत्पादनमा रोक लगाएको छ ।
विभागले सूचना प्रकाशित गर्दै न्यून गुणस्तरका भारतीय एवं नेपाली स्यानिटाइजर उत्पादन एवं प्रयोगमा रोक लगाएको हो । विभागले हर्बलट्री ह्यान्ड, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्यान्ड स्यानिटाइजर, कुमकुम इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर जेल, इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजनल, साधना इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, ड्रोन ह्यान्ड स्यानिटाइजर नामको पहेंलो र रङरहित स्यानिटाइजर उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
विभागले यसअघि भदौ २७ गते विभिन्न पाँच कम्पनीको उत्पादन प्रयोगलाई प्रतिबन्ध लगाएको थियो भने भदौ ३१ गते पनि विषाक्त रसायनको प्रयोग एवं न्यून गुणस्तरको स्यानिटाइजर बनाएका थप चार कम्पनीलाई पनि प्रतिबन्ध लगाइएको थियो ।
विभागको कारबाहीमा पर्ने कम्पनीहरुमा विदेशीसहित स्वदेशी कम्पनी पनि छन् । विभागले यसअघि चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन(वासिङ एन्टिब्याक्टेरियल सोलुसन, सम्पदा हेल्थ केयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, आरएल कर्प इन्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एन्ड कस्मेटिक इन्डस्ट्रीको स्यानिटाइजर प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
यसैगरी काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, नेपाल कायाकल्प उद्योगको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, हाइजिन सप एन्ड केमिकलको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजनल, आधार केमिकल्स् एण्ड फूड उद्योगको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च च्याम कम हर्बल प्रडक्टको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजर उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको थियो ।