जुम्ल्याहा बच्चा जन्माएकी महिलाको कोरोना संक्रमणबाट मृत्यु

आइतबार, १८ असोज २०७७

नेपालगञ्ज – जुम्ल्याहा बच्चा जन्माएकी एक सुत्केरी महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत २९ वर्षीया महिलाको मृत्यु भएको हो ।

कञ्चनपुरको महेन्द्रनगर–१ निवासी सुत्केरी महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । त्यसपछि उनको पाठेघरको अपरेसनका साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो ।

साथै कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । असोज १५ गते अपराह्न ४ बजे कोहलपुरमा भर्ना हुँदा उनी बेहोस अवस्थामा रहेको र रोगको प्रकृतिअनुसारका सबै उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।