१६ बर्षिया किशोरीको बलात्कारीलाई उन्मुक्ति दिने ८ जना पक्राउ

आइतबार, १८ असोज २०७७

जनकपुरधाम – १६ बर्षया किशोरीलाई बलात्कार गर्ने एक युवालाई उन्मुक्ति दिने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिराहामा ५ लाखको कपाली तमसुक बनाएर १६ बर्षीया किशोरीलाई बलात्कार गर्ने युवकलाई उन्मुक्ति दिने ८ जनालाई प्रहरीले फक्राउ गरेको हो ।

बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुरका २० बर्षीय मुकेश साहले असोज १२ गते एक स्थानीयको घरमा १६ बर्षीया किशोरीको बलात्कार गरेका थिए । घटना थाहा पाएपछि अभियुक्तलाई उन्मुक्ति दिलाउन गाउँमै पञ्चायती बसेको थियो । पञ्चले अभियुक्तका आफन्त सिंहेश्वर साह र शत्रुधन साहसँग ५ लाख रुपैयाँको कपाली तमसुक बनाएर जगवीर यादवको जिम्मा लगाएको खुलेको छ ।

सिंहेश्वर र शत्रुधनलाई ऋणी बनाएर तमसुक बनाइएको र तमसुकमा उल्लेखित रकम पीडित परिवारलाई दिने सहमति भएको खुलेको छ ।

बलात्कार घटना लेनदेनमा मिलापत्र भएको सूचना पाएपछि प्रहरीले यस्तो पञ्चायतीमा संलग्न आठ जनासहित बलात्कारमा संलग्नको आरोप लागेका मुकेशलाई समेत पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले पञ्चायती गर्ने आठ जना पञ्चलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका–१ का ५२ बर्षीय सिंहेश्वर साह, २२ बर्षीय अरविन्दकुमार साह, ४५ बर्षीय शत्रुधन साह, ४७ बर्षीय राजकुमार साह, ४२ बर्षीय राम उदगार यादव, ६१ बर्षीय जगवीर यादव, ४८ बर्षीय राजकुमार यादव, ३५ बर्षीय रौदी भनिने श्यामसुन्दर यादव छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।