कडा सुरक्षाबीच नेकपा संसदीय दलको बैठक बस्दै

सोमबार, १९ असोज २०७७

बुटवल – प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक केहीबेरअघि सुरू भएको छ। प्रदेश राजधानी र नामबारे निर्णय गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक ११ बजेपछि सुरू भएको हो।

मुख्यमन्त्री शंकर पोखरेल नै ढिला आएकाले बैठक ढिला सुरू भएको हो।

बैठकस्थल बाहिर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी देउखुरी र नाम राजधानी राख्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार सरकारले प्रदेश सभामा प्रस्ताव पनि पेस गरेको छ।

उक्त प्रस्तावमाथि छलफल गर्न आजै प्रदेश सभा बैठक बोलाइएको छ।

प्रस्ताव पारित गर्ने विषयमा भने नेकपाकै सांसदहरू नै विभाजित छन्। तीमध्ये सांसद विष्णु पन्थीले दाङ राजधानी बनाउने निर्णय गरे आफूले पार्टीको ह्वीप नमान्ने बताएका छन्।