वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

बुधबार, २१ असोज २०७७

चितवन – चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो तीन वर्षको अवधिमा जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५र७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ । सो आवमा वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु हुनुका साथै १२० घाइते भएका थिए।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामका अनुसार २०७४र७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु तथा ३२ जना घाइते भएका थिए।

त्यस्तै २०७६र७७ मा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ तथा घाइतेको सङ्ख्या ३४ रहेको सूचना अधिकारी रामले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरूले आक्रमण गर्ने गरेका उनले बताए।

मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झड्का तथा मेसजाली लगाउन थालेको छ।