डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक

बुधबार, २१ असोज २०७७

काठमाडौं – डा. गोविन्द केसीको स्वास्थ्य अबस्था झन झन विग्रीदै गएको छ । विगत लामो समयदेखि स्वास्थ्य शिक्षा सुधारको माग गर्दै आएका केसीको १९ औं अनसन जारी छ । १९ औं अनसनको २४ औं दिन उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।

उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रीदै गएपछि केसीका मागहरुको सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले बुधबार एकले एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

जसअनुसार बिहीबार बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय भएको संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दैैै धर्ना दिने कार्यक्रम पनि तय भएको छ ।

यसैगरी संघका शाखा कार्यालयहरु र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाई अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अनसन गर्ने पनि तय भएको छ ।

यसैगरी शुक्रबार १ दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने घोषणा संघले गरेको छ । शुक्रबारसम्म पनि पनि सरकारले वार्ता टोली बनाई सत्याग्रहको अन्त्य नगरिएको अवस्थामा संघबाट थप कडा विरोधका कार्यक्रमहरु सार्वजनिक गरिने रिजालले बताए ।

संघद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुन पनि संघले स्पष्ट पारेको छ ।

केसीको १९ औँ असनसनमा क्रममा भएका भएका माग पूरा गर्न यसअघि संघले सरकारलाई ७२ घण्टाको समयावधि दिएको थियो । तर, सो अवधिमा वार्ताको कुनै वातावरण नबनेकाले संघले आन्दोलनको घोषणा गरेको हो।

केसीले अनसन थालेको आज २४ पुगेको छ भने उनको स्वास्थय अवस्था अन्यन्तै जटिल बन्दै गएको बताइएको छ ।