कोरोना संक्रमणबाट एकाविहानै ८ जनाको मृत्यु, २० सिकिस्त
बुटवल – कोरोना संक्रमणबाट रुपन्देही र बाँकेमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका, एकजना तिलोत्तमा नगरपालिका, एक जना नेपालगञ्ज उपमहानगरपालिका र एक जना कोहलपुर नगरपालिकाका रहेका छन ।
बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मुटुका दीर्घरोगी थिए ।
यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको डा। गौतमले पुष्टि गरे । असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासको समस्या थियो ।
यस्तै बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी डा. गौतमका अनुसार उनमा उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुने उनी नै पहिलो व्यक्ति हुन् ।
उता, नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं. ८ निवासी ७१ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले दिएको जानकारी अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९ः५५ बजे मृत्यु भएको थियो । त्यसको पाँच मिनेटको अन्तरमा १० बजे अर्की महिलाको पनि ज्यान गयो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण देखिएको थियो ।
बाँकेमा २० जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पतालमा आठ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी २० संक्रमित सिकिस्त अवस्थामा उपचाररत रहेको गौतमको भनाई छ ।