भ्रष्टाचार गरेको प्रमाण ल्याउन बाबु्रामलाई कांग्रेसको चुनौति
काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले केही दिन अघि गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाएका थिए । त्यसको प्रमाण दिन समेत आफू तयार रहेको उनले बताएका थिए ।
कांग्रेसले भट्टराईको अभिव्यक्तिप्रति विज्ञप्ति निकालेर आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् । केवल आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्ने भन्दै कांग्रेसले भनेको छ, ‘यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं ।’
वर्तमान सरकार बनेपछि बुढिगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणप्रति नेपाली कांग्रेसले सार्वजनिक रूपमा निरन्तर रुपले कडा विरोध गर्दै आएको विज्ञप्तीमा उल्लेख छ ।