नियमित आम्दानी नभएका र विपन्न वर्गका परिवारका लागि १० हजार रुपैयाँका दरले चापवर्ड खर्च उपलब्ध गराउन कांग्रेसको माग

मंगलबार, २७ असोज २०७७

काठमाडौँ – नेपाली कांग्रेस सम्बद्ध श्रमिक तथा ट्रेड युनियन विभागले नियमित आम्दानी नभएका र विपन्न वर्गका परिवारका लागि चाडपर्व खर्च उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

युनियनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरोनाका कारण नियमित आम्दानी गुमाएका र विपन्न वर्गका परिवारलाई प्रति परिवार १० हजार रुपैयाँका दरले चापवर्ड खर्च उपलब्ध गराउन माग गरेको हो । ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाँईले अनौपचारिक तथा औपचारिक क्षेत्रमा कार्यरत निम्न आय भएका श्रमिकको परिवारलाई दशै तिहार, छठ पर्व मनाउन खर्चबापत प्रतिपरिवार १० हजारका दरले व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए ।

विभागले निम्न आय भएका गरिब परिवारको लागत संकलन गरी सामाजिक सुरक्षा भत्ताको रुपमा निर्वाह खर्च वापत प्रतिपरिवार प्रतिमहिना ७ हजारका दरले नगद र तीन महिनालाई पुग्ने गरी खाद्यान्नको व्यवस्था गर्न पनि माग गरेको छ । यस्तै श्रमजीवी पत्रकार ऐन पूर्वरुपमा कार्यान्वयन गर्दै स्वरोजगार मिडियाको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन सूचना प्रणाली र क्लिनफिड तत्काल लागु गर्न पनि विभागले माग गरेको छ । श्रमजीवी पत्रकारहरुलाई प्रतिमहिना १० हजारका दरले निर्वाह भत्ताको व्यवस्था गर्न पनि हुमागाईले सरकारसँग माग गरिएको बताए ।

विभागले महामारीको समयमा अहिलेसम्म २० अर्ब खर्च गरिएको भनिएकोमा भ्रष्टाचार र अनियमितता गर्ने व्यक्ति, संस्था र पदाधिकारीलाई छानबिनको दायरामा ल्याएर दुरुपयोग रकम असुल उपर गर्ने कानूनी व्यवस्था गर्न पनि माग गरेको छ ।