आज किन घट्यो सेयर बजार ? भोली के हुन्छ ?
काठमाडौं – आज नेपाली सेयर बजार ७.४२ अंकले घटेको छ । खुले देखिनै घट्न थालेको बजार अन्तिम समयमा आइएर ७.४२ मा रोकिएको थियो । बजार घटेर कारोबार पनि निकै कम भएको छ ।
नेप्से ०.४७ प्रतिशत घटेर १५६१.१७ विन्दुमा बन्द भएको बजारमा कुल १९५ कम्पनीको २४ हजार ८९९ पटक भएको कारोबारमा १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार रुपैयाँ बराबरको ५२ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बजारमा त्रैमासको प्रधाव परेकाले घटेको विज्ञहरुको भनाई । चालु आर्थिक वर्षको प्रथम त्रैमासको अन्त्य नजिकिदै गर्दा शेयरबजार केही सुस्ताएको उनीहरुको भनाई छ।
पहिलो त्रैमासको अन्त्य अघि बिहीबार अन्तिम कारोबार दिन हो। त्रैमासको अन्त्यमा विभिन्न वित्तीय राफसाफका कामहरु हुने भएकोले प्रायजसो यस अवधिमा बजार प्रभावित हुने गरेको छ। भोली विहिबार पनि बजार प्रभावित हुने देखिन्छ ।
अहिलेको बजारलाई त्रैमास परिवर्तनका साथै नजिकिँदै गरेको दशैँले पनि प्रभाव पारेको जानकारहरु बताउँछन्। यही शनिबार दशैँको पहिलो दिन घटस्थापन परेको छ। दशैँको लागि पैसाको जोहो गर्न शेयर बिक्री थालेका कारण पनि बजार घट्न केही दबाब पुगेको उनीहरुको भनाइ छ।
यद्यपि, आगामी आइतबार भने पुनः बजार उत्साह छाउन सक्ने उनीहरुको भनाइ छ । नयाँ त्रैमासमा नयाँ रणनीतिका साथ लगानी गर्ने लगानीकर्ता र अहिले कम्पनीहरुले घोषणा गरिरहेको लाभांशले बजारलाई टेवा दिने उनीहरुको विश्लेषण छ।
बुधबार बजार घटेपनि दुई कम्पनीको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जनरल इन्स्योरेन्स र नेपाल फाइनान्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। जनरल इन्स्योरेन्सको आजदेखि कारोबार शुरु भएको हो भने नेपाल फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ।
यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये होटल उपसमूहको परिसूचक बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ। यस दिन होटल उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको छ। कारोबारमा आएका विकास बैंक, हाइड्रोपावर र वित्त उपसमूह यस दिन करेक्सन १ प्रतिशतभन्दा बढी घटेका छन्।