कोरोना संक्रमणबाट एकै घरका दुई जनाको मृत्यु

बिहिबार, २९ असोज २०७७

काठमाडौं – काभ्रे जिल्लाको बनेपा नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट एकै घरका दुई जनाको मृत्यु भएको छ । वडा न १३ साँगामा एकै परिवारका दुई जनाको कोरोनाको कारण मृत्यु भएको बनेपा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले १० दिनको फकमा दुई जनाकै मृत्यु भएको जनाएको छ । गत असोज १८ गते ४५ वर्षीय भाइको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो भने बुधबार राती ५० वर्षीय दाजुको पनि धुलिखेल अस्पतालमा मृत्यु भएको हो । मधुमेह रोगबाट पीडित उनलाई गत भदौ २७ गते धुलिखेल भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार रहनुभएका उनको मृत्यु भएको हो ।

यसैबीच बनेपा नगरपालिका वडा न ७ का ७७ वर्षीय जेष्ठ नागरिकको घरमै मृत्यु भएको बनेपा आइसोलेसनका डा. शिशिर बञ्जाराले जानकारी दिए । बुधबार उनलाई डाइलोसिसका लागि धुलिखेल अस्पताल लगिएको थियो ।

पिसीआर परीक्षण गरी डाइलोसिसका लागि समय दिए पनि उनमा कोरोना पोजेटिभ देखिएको हो । घरमै निधन भएपछि उनको अन्त्येष्टिको तयारी भइरहेको जनाइएको छ । जिल्लामा कोरोनका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।