प्रेरक प्रसंग : एउटा हात्तीको विश्वास, जसले संसार जित्यो

शनिबार, १५ कार्तिक २०७७

काठमाडौं – राजा प्रसेनजितसँग पायेक्का नाम गरेको हात्ती थियो । उ एकदमै बहादुर । म बुद्ध युगको एउटा कथा भन्दै छु । त्यो हात्तिमा चढेर जब प्रसेनजित युद्धमा जान्थे तब जित उनैको हुन्थ्यो । भीमकाय हात्तीको आवाज पनि उस्तै प्रभावशाली थियो ।
पायेक्का बूढो भयो । एक दिन पोखरामा नुहाउन जाँदा त्यो हात्ती दलदलमा फस्यो उसले खुब बल गयो । बाहिर निस्कने तर कुनै उपाय चलेन । अहँ निस्कन सकेन हात्ती । बहादुर हात्ती जसको एक गर्जनले शत्रुहरु कायल हुन्थे हाहाकार हुन्थ्यो युद्धभूमि तर उसले हरेस खायो । दलदलमा फसेर हात्ती मर्नें भयो ।

राजाको प्यारो हात्ती थियो त्यो, खास मनपरेको । त्यस बेला बुद्ध पनि त्यही नगरमा थिए । राजा प्रसेनजित हात्तीलाई बाहिर निकाल्न बुद्ध कहाँ सल्लाह लिन पठाए । बुद्धले हात्तीको उद्दार गर्न एउटा बूढो माउते पठाए, जो पहिला त्यही हात्तीको माउते थियो । अवकाश भएपछि ऊ पनि भिक्षु बनेको । दलदलमा फसेको हात्ती देखेर बूढो माउते पहिला बेस्सरी हाँस्यो र दोस्रो काम उसले युद्धको धुन बजाउन लगायो । बाजा यसरी बज्यो मानौँ युद्ध हुनै लागेको छ । युद्धकै अवस्था सिर्जना गरियो । वीररसको सङ्गीत बज्नसाथ हात्ती एकदमै अर्को भयो । ऊ त्यो पहिलाको कमजोर हात्ती रहेन अब उसले आफूलाई उही ठान्यो । ऊ जोडले करायो जसरी युद्धको बेला कराउँथ्यो । उसको त्यो आवाज नसुनेको जुग भएको थियो । उसले एक जोडदार सङ्घर्ष गयो ।

पछि मानिसहरु बुद्धलाई सोधे । त्यो माउते किन हाँस्यो ? युद्धको धुन गुन्जिन साथ त्यो बहादुर हात्तीको लाचरी देखेर हाँसेको थियो । दोस्रो हात्तीले सम्पूर्ण शक्ति गुमाइसकेको थिएन । बस विश्वास मात्र गुमाएको थिए । जब युद्धको अवस्थाको वातावरण सिर्जना गरियो तब उसले त्यही पहिलाको बहादुर हात्ती ठान्यो आफूलाई । ऊ थियो पनि त्यतिकै बहादुर ।

हरेक मान्छे अद्भुत आविष्कार हो यदि हामीले आफूभित्रको त्यो अपार शक्ति चिन्न सक्यौँ भने हरेकले महान सफलता प्राप्त गर्न सक्छौँ ।

हामी सबै त्यो पायेक्का हात्तीझैँ ससाना दलदलमा फसेका छौ । विश्वास गुमाएर आफैलाई श्राप दिएर बाँचेका छौँ । एउटा मानिस कति मूल्यवान छ त्यो थाहा पाउँदा हामी आफूलाई नै विश्वास लाग्दैन । गफ दिए जस्तो लाग्छ । बेलायतस्थित सन् ल्याब्रोटरीका वैज्ञानिकले निकालेको तथ्य अनुसार हाम्रो आखाँ प्रयोगशालामा बनाउन १० करोड डलर लाग्छ । हामी जतिको मानिस बनाउन टोनी बुजानका अनुसार एक खर्ब डलर लाग्छ । यसबाट के बुझीन्छ भने हरेक मानिस आफूसँग बहुमूल्य खजाना बोकेर हिड्ने गर्छ । हरेक मानिस मूल्यवान् छ ।

तर म सक्तिनँ भन्ने सोच हामी माथि कसरी हाबी भएको छ भने हामी जस्तै एक अर्र्काे मानिसले त्यही हामीले टेकेको भुँइबाट जुरुक्क उठेर माहान् काम गरिसक्ता पनि उसले झैँ समान योग्यता भएका हामी अघी बढ्न सक्तैनौँ । अझ महिलाहरुमा त यो रोग बढ्तै हाबी छ । उनीहरु आफूसँगै रहने पुरुषसँग दाँजिने हिम्मत गर्न पनि डर मान्छन् । उनीहरुको आत्मविश्वास धज्जी उडिसकेको छ । स्त्रियोचित गुुणको बखान गरेर नारीमाथि सदियौँदेखि शोषण भयो ।

सारा नियम, अनुशासन, कानुन पुरुषले तयार बनायो नारीलाई फूल्न र फक्रिन नदिने गरी । आज पनि नारीहरु पुरुषले तयार पारेको माखे साङ्लोमा जकडिन बाध्य छन् ।

नारीहरु कमजोर भएर पछि परेका होइनन् । यो सामाजले नारीलाई आफ्नो योग्यता विकसित गर्ने अवसर नै दिएन । धरतीका हरेक समाज नारीप्रति पूर्वाग्रही छन् । कुनै नारी मुस्ताङमा मात्र होइन न्युयोर्क पुगेर पनि शोषित छे । विद्धत्ता, नैतिकता, वीरता, कामुकता हरेक कुरामा पुरुष पूर्वाग्रही बनेको छ ।

संसारका नारीहरुमा विश्वास जाग्नु आवश्यक छ । हामी एउटा नयाँ संस्कृति , नयाँ समाज, नयाँ सभ्यता जन्माउन सक्छौँ । सबैभन्दा पहिला नारीहरुले म महिला, केही गर्न सक्तिनँ भन्ने दुर्बल सोचलाई चुनौती दिनुपर्छ । आफ्नो हीन भावनालाई हाँक दिएर आफूलाई हाँक दिएर आफूलाई विश्वास गर्नुपर्छ । ठान्नुपर्छ ‘संसारमा कुनै पनि मानिसले गरेको काम गर्न म सक्षम छु ।’