लागुऔषधसहित एकजना पक्राउ
सर्लाही – जिल्लाको ब्रह्मापुरी गाउँपालिका ४, त्रिभुवननगरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
ब्रह्मापुरी ४, त्रिभुवननगर दशगजा क्षेत्र सेखटोल नाकाबाट २०१ बोतल लागुऔषधसहित सोमबार साँझ एक जनालाई नियन्त्रणमा लिएको बोर्डर आउटपोस्ट बीओपी० का प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक सञ्जितकुमार सिंहले जानकारी दिए ।
कफक्युर डीसी १०० मिलिलिटरका ११ बोतल, विनसिरेक्स १०० मिलिलिटरका १४० बोतल, रेप्लिन १०० मिलिलिटरका ५० बोतल र नाइट्राभेट १० ट्याब लेखिएका सात पत्तासहित सर्लाहीको हरिवन नगरपालिका ११ का अन्दाजी वर्ष १६ का अजय गिरी पक्राउ परेका हुन् ।
भारतबाट लुकाइछिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले सो परिमाणमा लागुऔषध बरामद गरेको हो । नेपाली बजारमा बिक्री(वितरण तथा प्रयोगमा प्रतिबन्ध रहेको लागुऔषध पछिल्लो समय नेपाल(भारत खुला सिमानाको कारण नेपाली बजारमा प्रशस्त पाइने गरेको छ । (रासस