भारतीय सेना प्रमुखलाई भव्य स्वागत गर्ने तयारी

मंगलबार, १८ कार्तिक २०७७

काठमाडौं – नेपाल भ्रमणमा बुधवार नेपाल आउन लागेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई यहाँ भव्य स्वागतको तयारी भइरहेको छ । सेनाअध्यक्ष नरवणेको नेपाल भ्रमण जनवरी २०२० मा नै हुने तय भएको थियो तर कोरोना महामारीका कारण ढिलाइ भएको भएको हो ।

नेपाली सेनाको मनार्थ सेनापतिको उपाधि लिनका लागि उनी नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सेनाको मनार्थ सेनापति लिइसकेपछि उनले विभिनन उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । हुन त यसअघि पनि भारतीय सेनाध्यक्षहरु मनार्थ उपाधिका लागि नेपाल आउँथे । उनीहरुको भ्रमणको त्यति चर्चा हुँदैन्थ्यो तर यसपटक भने नरवणेको भ्रमणको विशेष चर्चा भइरहेको छ ।

भारतीय सेना प्रमुख एमएम नरवणेको भ्रमणका सम्बन्धमा विभिन्न संचारमाध्यमले राखेको जिज्ञासामा नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले सो भ्रमणले दुवै देशलाई रक्षा सहकार्य सम्बन्धी दुईपक्षीय सम्बन्धको बारेमा छलफल गर्ने अवसर प्रदान गर्ने र यसलाई अझ सुदृढ गर्नका लागि बाटो खोल्ने धारणा व्यक्त गरेका छन् ।