प्रहरीभन्दा एक स्टेप अगाडि भिटेन !

मंगलबार, १८ कार्तिक २०७७

काठमाडौं – प्रहरीले खोजी गरिरहेका भिटेन भनिने समिर घिसिङ भिटेन एका एक अदालतमा भेटिएका छन । उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले भिटेन आफै अदालतमा हाजिर भएको पुष्टि गरे ।

प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका उनी प्रहरी भन्दा अघि मंगलबार अदालत पुगेका हुन ।

केही दिनअघि भिटेनले सार्वजनिक गरेको नयाँ गीत ‘पारा’माथि छानबिन गर्न कात्तिक १३ गते प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । हेडक्वार्टरको निर्देशनसँगै ब्यूराले भिटेनको खोजी सुरु गरेको थियो ।

र्‍यापर भिटेनको नयाँ गीत ‘पारा’मा अपाच्य शब्द भएको प्रहरीको दावी छ । एक वर्षअघि ‘यस्तै त हो नि ब्रो’ र्‍याप गीत गाएर विवादमा मुछिएपछि भिटेनलाई महानगरीय अपराध महाशाखाले २०७६ कात्तिक ७ गते जावालाखेलबाट पक्राउ गरेको थियो । त्यतिबेला आइन्दा विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए ।

गीतमा प्रहरीलाई समेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत केही समयका लागि हटाएको थियो । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा मंगलबार निवेदन उपरको सुनवाई सकिएको छ । आदेश आउन बाँकी छ ।